Breaking News

रास्वपा महाधिवेशनका लागि चितवनमा भव्य तयारी, ५० हजार कार्यकर्ता उतारिने

Banner

चितवन,असार ५-

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको पहिलो महाधिवेशनको तयारी चितवनमा तीव्र पारिएको छ । भरतपुर महानगरपालिका १० स्थित गेष्ट हाउस चौरमा आगामी ७ गते हुने खुल्ला सत्रका लागि धमाधम काम भइरहेको छ । रास्वपा चितवनका जिल्ला सभापति मिनी माधव खनालका अनुसार अहिलेको वर्षातको मौसमलाई विचार गरेर घाम र पानी दुवैबाट बचाउन मैदानमा विशेष प्रविधिको प्रयोग गरिएको छ ।

यो बर्खाको समय भएकाले घाम–पानीबाट सहभागीहरूलाई जोगाउन हामीले जर्मन प्रविधिको २५ फिट अग्लो ह्याङ्गर (शेडिङ) हाल्ने काम गरिरहेका छौँ,’ सभापति खनालले भने, मैदानको शेडिङको काम लगभग सकिन लागेको छ र अब स्टेज निर्माण तथा साउन्ड सिस्टम जडानको काम सुरु हुनेछ । समग्रमा खुल्ला सत्रको तयारी अन्तिम चरणमा पुगेको छ ।

३५ सय प्रतिनिधि आउने, ४०–५० हजारको सहभागिता रहने अनुमान

ऐतिहासिक महाधिवेशन भएकाले देशैभरिबाट करिब ३,५०० प्रतिनिधिहरू चितवन आउने खनालले जानकारी दिए । त्यस्तै, खुल्ला सत्रका लागि चितवन र वरपरका जिल्लाहरूबाट समेत गरी ४० देखि ५० हजार सर्वसाधारण तथा शुभचिन्तकहरू सहभागी हुने पार्टीको अपेक्षा छ ।

सुरक्षा र आवासको बलियो व्यवस्था

महाधिवेशनको सुरक्षा र व्यवस्थापनका लागि जिल्लाका सुरक्षा निकायहरूसँग पूर्ण समन्वय भइरहेको उनले बताए । जिल्ला प्रहरी कार्यालय चितवन र सीडीओ कार्यालयसँग मिलेर एक हप्ता अघिदेखि नै सुरक्षा योजना बनाई बैठकहरू भइरहेका उनले जानकारी दिए ।

आउने अतिथि तथा प्रतिनिधिहरूको आवासका लागि चितवनका होटल व्यवसायीहरूसँग समन्वय गरिएको छ । हामीले चितवनका १५० भन्दा बढी होटलहरूको नाम आन्तरिक रूपमा सार्वजनिक गरिसकेका छौँ र साथीहरूले होटल बुकिङ गरिरहनुभएको छु, खनालले भने, होटल व्यवसायी संघसँगको छलफलपछि होटलका कोठाहरूमा २५ प्रतिशत र खानामा १० प्रतिशत छुटको व्यवस्था गरिएको छ । सौराहा र रत्ननगरका होटलहरूले पनि राम्रो प्याकेज दिएका छन् ।

बन्द सत्र उद्योग संघको हलमा, क्याटरिङको व्यवस्था

खुल्ला सत्र सकिएपछि हुने बन्द सत्रको लागि खुल्ला सत्र स्थलबाट २०० मिटर पूर्वमा रहेको चितवन उद्योग संघको हल तय गरिएको छ । त्यहाँ अहिले सरसफाइ, इन्टरनेट जडान लगायतका प्राविधिक कामहरू भइरहेका छन् । बन्द सत्रका सहभागीहरूका लागि उद्योग संघकै परिसरमा क्याटरिङ मार्फत खानाको व्यवस्था मिलाइएको छ ।

चितवनमा हुन लागेको यो ऐतिहासिक महाधिवेशनले यहाँको होटल व्यवसाय, पर्यटन र समग्र आर्थिक क्षेत्रलाई चलायमान बनाउन ठूलो सहयोग पुग्ने विश्वास जिल्ला सभापति खनालले व्यक्त गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>