Breaking News
ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री

काठमाडौँ, असार ४-
देशका विभिन्न क्षेत्रमा भारी वर्षा जारी रहँदा तराईका क्षेत्रमा तापक्रम पनि ह्वात्तै बढेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४ घण्टामा गोरखा, मोरङ, सुनसरी र झापामा भारी वर्षा भएको छ ।
गोरखामा ७१.८, मोरङमा ६१.८, सुनसरीमा ५१.४ र झापामा ७१.२ मिलिमिटर वर्षा भएको छ । यसअघि हिजो झापामा १०३ मिलिमिटरमाथि वर्षा भएको मापन गरिएको थियो ।
उक्त जिल्लामा भारी वर्षा हुँदा देशका अन्य क्षेत्रमा तापक्रम बढिरहेको विभागका सूचना अधिकारी दिनकर कायस्थले जानकारी दिनुभएको छ ।
विभागका अनुसार पछिल्लो अभिलेखअनुसार भैरहवामा ४१.५ डिग्री तापक्रम मापन भएको छ । यस्तै नेपालगञ्जमा ४०.४ डिग्री तापक्रम भएको छ । धनगढीमा ३८.८ डिग्री तापक्रम रेकर्ड भएको छ ।
अन्य जिल्लामा पनि तापक्रम बढेको छ । काठमाडौँमा पनि तापक्रम बढेर ३१.३ डिग्रीमा पुगेको छ ।
मौसम विज्ञान विभागका सूचना अधिकारी कायस्थका अनुसार आज धनगढी, वीरेन्द्रनगर, नेपालगञ्ज, घोराही, भैरहवा र सिमरामा तातो दिन हुने सम्भावना छ
हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय वायुको समेत आंशिक प्रभाव रहेको जनाइएको छ ।
विभागले आज जारी गरेको मौसम बुलेटिनअनुसार आज देशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्ने तथा कोशी र मधेस प्रदेशका तराई भू–भागमा आंशिक बादल लाग्ने छ ।
बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागका थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना छ ।
कोशी र मधेस प्रदेशको तराईका पनि एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानहरू तथा बागमती र गण्डकी प्रदेशका तराई भू–भागका थोरै स्थानमा पनि तातो दिन हुने सम्भावना रहेको जनाइएको छ । रासस
























