Breaking News
रास्वपाको महाधिवेशन स्थल फेरियो, भरतपुरको गेष्टहाउस चौरमा उद्घाटन र प्रदर्शनी केन्द्रमा बन्दसत्र हुने

भरतपुर,असार २-
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन स्थल परिवर्तन भएको छ । यसअघि चितवनको टाँडीस्थित स्टार बेंक्वेट होटल र संगै परिसरमा टेन्ट हालेर खुला सत्र र बन्द सत्र गर्ने तय भएकोमा चितवनको अत्यधिक गर्मीलाई मध्यनजर गर्दै महाधिवेशन स्थल परिवर्तन गरिएको हो । पार्टी प्रवक्ता मनिष झाले भरतपुरमा महाधिवेशन हुने निश्चित भएको नारायणी अनलाइनलाई जानकारी दिए ।
रास्वपा महामन्त्री कबिन्द्र बुर्लाकोटीले पनि महाधिवेशन गर्ने स्थान भरतपुर नै भएको बताउनुभयो । टाँडीको व्यवस्थापनले गर्मी नधान्ने भन्दै जिल्लाका पदाधिकारीले सभापति रबि लामिछानेलाई संशोधन गर्न सुझाएका थिए । उनीहरुले भरतपुरमा रहेको चितवन प्रदर्शनी केन्द्र सुझाएको भन्दै जिल्लाको सुझावअनुसार सभापति लामिछानेले वातावरण अनुकूल हुनेगरी चितवन प्रदर्शनी केन्द्रलाई नै तोक्ने निर्णय गरेको बुर्लाकोटीले बताए ।
चितवन प्रदर्शनी केन्द्रमा तीनवटा हल छ । अत्यधिक गर्मीमा एसी, एयर कन्डिसनको सिस्टम छ । एउटा हलमा बन्दसत्र गरिनेछ । जहाँ ३५ सय मान्छे राख्न सकिन्छ । अर्को हलमा खाना व्यवस्थापन गरिनेछ । अर्को हल प्रतिनिधि सदस्यहरु बस्ने आराम गर्न प्रयोग गरिनेछ । सवारी व्यवस्थापन र सुरक्षाको हिसाबले पनि यो उपयुक्त भएको उनको भनाइ छ ।
























