Breaking News

चितवनमा ४५ वर्षमा २३ सयभन्दा बढी गोही नदीमा छाडियो

Banner

चितवन, असार १-

पछिल्लो ४५ वर्षयता चितवन राष्ट्रिय निकुञ्जमा रहेको घडियाल गोही प्रजनन् केन्द्रमा हुर्काइएका २ हजार ३१५ गोहीलाई नदीमा छाडिएको छ । केन्द्रका अनुसार सन् १९८१ यता विभिन्न आठ वटा नदीमा ती गोहीलाई छाडिएको हो ।

केन्द्रका अनुसार यस अवधिमा राप्ती नदीमा सबैभन्दा बढी एक हजार ५६० वटा गोही छाडिएको छ । चालु आर्थिक वर्षमा मात्रै २२५ वटा गोही छाडिएको निकुञ्ज प्रशासनले जनाएको छ । जसमध्ये भाले १४ र पोथी २११ रहेका छन् ।

निकुञ्जका सूचना अधिकारी अबिनास थापा मगरका अनुसार केन्द्रमा हुर्काइएका हालसम्म नारायणी नदीमा ४१९ सप्तकोशीमा ११५, बबहीमा ११०, कर्णालीमा ४१, कालीगण्डकीमा ३५, शुक्लाफाँटाको चौधारामा २५ र बाँकेको राप्तीमा १० वटा गोही छाडिएको छ ।

यस वर्ष अहिलेसम्मकै बढी गोही नदिमा छाडीएको हो । सन् २०२१ र २०२२ मा सङ्कलन भएका अण्डाबाट कोरलिएका गोही यस वर्ष छाडिएको हो । हरेक वर्ष गोही छाड्ने गरेको भएपनि गणना गर्दा भेटिने गोहीको सङ्ख्या भने बढ्न सकेको छैन । गत वर्ष राप्ती र नारायणी नदीमा गोही गणना गर्दा ३६६ वटा मात्र भेटिएको थियो ।

हाल प्रजनन् केन्द्रमा ५०० वटा गोही छन् । यस वर्ष सङ्कलन गरिएको १९६ अण्डाबाट १४६ बच्चा कोरलियका छन् । घडियाल गोही सङ्कटापन्न अवस्थामा पुगेको सरीसृप प्राणी हो ।

विगतमा पाकिस्तान, बङ्गलादेश, भुटान, म्यानमारलगायतका देशहरूमा समेत पाइने गरेको घडियाल अहिले नेपाल र भारतमामात्रै पाइन्छन् । सन् १९४० को दशकमा यसको सङ्ख्या विश्वमा १० हजार जति रहेको पाइन्छ । सन् १९७० मा त्यसको २ प्रतिशतमात्रै सङ्ख्या अस्तित्वमा रहेको पाइएपछि संरक्षणमा चासो बढेको संरक्षणकर्मी बताउँछन् ।

चितवन राष्ट्रिय निकुञ्ज स्थापना भएपछि सन् १९७५ मा कसरामा घडियाल प्रजनन् केन्द्र स्थापना गरिएको थियो । त्यतिखेर देशभरमा एक सयभन्दा कम सङ्ख्यामा घडियाल गोही थिए । नदीमा बढ्दो मानवीय चहलपहल, नदीजन्य पदार्थ उत्खनन्, प्रदूषणलगायतका कारण गोहीहरु प्राकृतिक बासस्थानमा असुरक्षित बनिरहेको थापामगरले बताउनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>