Breaking News

चितवनमा गर्मी छल्ने नजिकको रमणीय ठाउँ बन्यो ‘मायाटार’ (फोटो फिचर)

Banner

चितवन (मायाटार), जेठ ३१–

चितवनमा पछिल्ला केही दिनयता अत्यधिक गर्मी छ । तर यही चितवनको पहाडी भेगमा भने मौसम असाध्यै मनोरम छ । त्यसैले मैदानी भूभागमा अत्यधिक गर्मी हुँदा गर्मी छल्नकै लागि धेरै मानिसहरु पहाड उक्लिन थालेका छन् । अनि गर्मी छल्ने गज्जबको गन्तव्य बनेको छ इच्छाकामना गाउँपालिका वडा नं.२ स्थित मायाटार ।

तल्लो भागमा अत्याधिक गर्मी हुँदा पहाडी भागमा भने राति सिरक ओढेर सुत्नुपर्ने अवस्था छ । पछिल्लो केही वर्षयता यो ठाउँ गर्मी मौसममा सबैको रोजाइमा पर्न थालेको छ । चितवनकै तराई भू–भाग अर्थात् बजार क्षेत्रमा अत्यधिक गर्मी हुँदा त्यसलाई छल्नका लागि मानिसहरु यो पहाडी ठाउँमा पुग्ने गरेका छन् । चितवनको सदरमुकाम भरतपुरको बाइपास रोडस्थित विशाल चोकबाट यो मायाटार पुग्न मात्र ४० किलोमिटरको दुरी छ । शक्तिखोर हुँदै पुग्ने यो ठाउँमा अहिले भरतपुर, रत्ननगरलगायत क्षेत्रका बासिन्दाहरु गर्मी छल्न यो ठाउँमा पुग्ने गरेका छन् । कोही परिवार र साथीभाइ सहित पुग्ने गरेका छन् भने कोही समूह मार्फत एक दिने कार्यक्रम बनाएर यहाँ उक्लिने गरेका छन् । उनीहरु साँझमा नाचगान गर्दै रमाइलो गर्न, चिसो मौसमको आनन्द लिन पाएकोमा खुशी छन् ।

सहकारीका साथीहरुसंगै मायाटार उक्लिएका भरतपुर महानगरपालिका–३ गणेश पौडेल मायाटारको मौसम देखेर दंग परे । ‘बजारबाट यति नजिकै सुन्दर, मनोरम वातावरणको ठाउँ देख्दा खुशी लाग्यो, सहकारीका साथीहरु एक दिने कार्यक्रम लिएर मायाटार आएका हौं, चिसो मौसममा बस्न आनन्दको महसुस भएको छ’–पौडेलले भने ।

साथीसंगै घुम्न पुगेकी भरतपुर–७ प्रेमबस्तीकी सुनिता पौडेल पनि मायाटारको मौसम देखेर दंग परिन् । डेढ घण्टाको बाटोमा चिसो ठाउँ चितवनमै देखेपछि उनी उत्साहित बनिन् । ‘साथीहरुसंग घुम्न आयौं, नजिकै चिसो ठाउँ देखेर धेरै खुशी लाग्यो, अझै केही व्यवस्थित गर्न बाँकी रहेछ, बस्ने राम्रो ठाउँ र अन्य केही व्यवस्थापन राम्रो गर्न सकिए यो ठाउँ सबैको प्यारो हुन्छ’–पौडेलले भनिन् ।

बजार क्षेत्रबाट नजिककै दुरीमा चिसो ठाउँ भएकाले यो मायाटार सबैको रोजाईमा पर्न थालेको हो । चिसो मौसममा रमाउन पाहुनाहरु आउन थालेपछि अहिले मायाटारमा ‘होम स्टे’ समेत खुल्ने क्रम पनि बढेको छ । पाँच वर्षअघि विदेशबाट फर्किएर टिका गुरुङले ‘मायाटार होम स्टे’को सुरुवात गरेपछि अहिले उनकै नजिक धेरै ‘होम स्टे’ र रिसोर्टहरु खुलेका छन् । सार्वजनिक बिदाको दिनमा यो ठाउँमा अहिले बास बस्ने ठाउँको समेत अभाव हुन थालेको छ । रमणीय वातावरण, चिसो मौसम र रैथाने खानेकुरा खान पाउने भएपछि आन्तरिक पर्यटकहरु अहिले मायाटार उक्लिन थालेका हुन् । ‘यहाँ आउने पर्यटकले आर्गनिक खानेकुरा खान पाउँछन्, चिसो मौसममा सिरक ओढेर सुत्न पाउँछन्’ होम स्टे संचालक गुरुङले भने–‘यहाँ बाटोको ठाउँमा ओत लाग्ने बिसौनी, मोबाइल नेटवर्किङको समस्या समाधान गर्न सकिए पर्यटकहरुलाई आउजाउ गर्न सहज हुन्छ ।’

मायाटारमा विद्युत पुगेको २ वर्ष मात्रै भएको छ । मोबाइल नेटवर्किङमा सामान्य देखिन्छ । पीच बनेपछि सडक मार्ग सहज बनेको छ । शक्तिखोर–फिस्लिङ सडक खण्डमा पर्ने मायाटार त्यहीँ कारण अहिले आन्तरिक पर्यटकको रोजाईमा छ । आन्तरिक पर्यटक बढ्न थालेपछि मायाटार आसपास उपरदाङगढी, घुर्केस, तेर्से लगायत ठाउँहरुमा करिब दुई दर्जन होम स्टेहरु खुलेका छन् । केही खुल्ने क्रममा छन् ।

होम स्टेले रोजगारीको अवसर सिर्जना हुँदा स्थानीय चेपाङ समुदाय समेत लाभान्वित छन् । यहाँ आउने आन्तरिक पर्यटकहरु उपरदङगढी, मायाटारको मन्दिर र यहाँको रमणीय वातावरणमा रमाउने गरेका छन् । अहिले बिदाको समयमा दैनिक ३ सयको हाराहारीमा मानिसहरु गर्मी छल्नकै लागि पहाड उक्लिन थालेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>