राजनीति
प्रतिनिधिसभामा समयमै रासायनिक मल उपलब्ध गराउन माग

काठमाडौँ, जेठ २९-
सांसदहरुले खेती गर्ने समय सुरु भएकाले समयमै रासायनिक मल उपलब्ध गराउन माग गर्नुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा सांसद ताहिर अलि भाटले विभिन्न जिल्लामा भएको मल अभाव समस्यालाई समयमै समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले भन्नुभयो, “कुनैपनि जिल्लामा डिएपी र यूरिया खाद्य पुगेको छैन, हामीले हरेक वर्ष कुरा उठाउँदै आएका छौँ, तर सरकारले सुनेको छैन, सरकारले कृषि माफियाको अन्त्य गर्नुपर्छ ।”
सांसद यज्ञबहादुर बोगटीले अछामको मङ्गलसिंह नगरपालिका–५ निवासी ३० वर्षीय रेवन्त विष्ट काठमाडौँमा डेरा गरी बस्दै आएकामा केही दिनदेखि वेपत्ता भएको बताउनुभयो । उहाँले प्रहरीमा उजरी दिँदा पनि खोजी नभएको उल्लेख गर्दै खोजी गर्न सरकारसमक्ष आग्रह गर्नुभयो ।
सांसद साजिदा खातुन सिद्धिकाले बाल अधिकार संरक्षणमा सरकारको धयानाकर्षण गराउनुभयो । सांसद राजेन्द्रकुमार राईले खेत रोप्ने बेलामा किसानले मल नपाएको बताउनुभयो । सांसद रञ्जु न्यौपानेले पछिल्लो समय साइबर अपराध बढ्दै गएको भन्दै साइबर ब्यूरोलाई सक्रिय बनाउन सरकारसँग आग्रह गर्नुभयो ।
सांसद निश्कल राईले चिया र सुपारीखेतीलाई सरकारले प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “दूध किसानले दूधको मूल्य नपाएको ६ महिना भयो, दूधको मूल्य उपलब्ध गराउन सरकारसँग आग्रह गर्नछु ।” सांसद जोककुमार बरबरिया यादवले जल, जमिन, जङ्गल र चुरे संरक्षण गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद क्षितिज थेबेले सरकारले ताप्लेजुङको फुङ्लिङ बजार र सुकेटार सडक खण्डमा पर्ने घर घहरा अटाउने प्रक्रिया अगाडि बढाएको उल्लेख गर्दै टहरामा बस्दै आएकाहरुको व्यवस्थापनमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
सांसद मोहम्मद फिरदोश आलमले बिहीबार बिहान रौतहटका दीपनारायण राउतकी श्रीमतीको अज्ञात समूहले हत्या गरेको उल्लेख गर्दै दोषी पत्ता लगाई कडा कारवाही गर्न माग गर्नुभयो । रासस
























