राजनीति
रविविरुद्ध पर्सा अदालतमा दायर संगठित अपराधको आरोपपत्र संशोधन गर्न अनुमति

काठमाडौं, जेठ २६-
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध दायर भएको संगठित अपराधको आरोप फिर्ता लिन पर्सा जिल्ला अदालतले अनुमति दिएको छ ।
रविविरुद्ध दायर भएको सहकारी ठगीसम्बन्धी मुद्दा मात्र कायम राखेर संगठित अपराधको आरोप फिर्ता लिन अदालतले सरकारी वकिललाई अनुमति दिएको हो । न्यायाधीश मोहन सुवेदीको इजलासले आरोपपत्र संशोधनको आदेश दिएको हो ।
अदालतका तहशिलदार देवराज भट्टराईले संगठित अपराधसम्बन्धी मुद्दा संशोधनको अनुमति प्रदान भएको जानकारी दिए ।
महान्यायाधिवक्ताको निर्णयबमोजिम रविको आरोपपत्र संशोधनका लागि अदालतमा निवेदन दिएका थिए । मंगलबार भएको आदेशले सानो पाइला सहकारी ठगी प्रकरणमा मुद्दा फिर्ताको बाटो खुलेको छ ।
२०८२ साल असार १ गते रविसहित २९ जनालाई प्रतिवादी बनाएर मुद्दा चलाइएको थियो । ठगी प्रकरणमा सरकारी वकिल कार्यालयले पाँच करोड ७४ लाख रुपैयाँ विगो माग दाबी गरेको छ ।
























