चितवन विशेष
ब्लड डोनर्स सोसाइटीका उपाध्यक्ष धितालले दिए राजीनामा

चितवन, जेठ २६–
रगतको सहज व्यवस्थापन र जनचेतना फैलाउन खुलेको सामाजिक संस्था ब्लड डोनर्स सोसाइटीमा पछिल्लो समय विवाद बढ्दै गएको छ । विवादकै बीच नेतृत्व चयन गरेको ब्लड डोनर्स सोसाइटी नेपाल केन्द्रीय समितिमा रहेका पदाधिकारीहरुले नै संस्था छाड्न थालेका छन् ।
संस्थाको उपाध्यक्षमा चयन भएका सामाजिक अभियन्ता सुरेन्द्र धितालले आफ्नो पदीय भूमिकाबाट राजीनामा दिएका छन् । उनले सामाजिक संजाल फेसबुकमा लामो स्टाटस लेख्दै केन्द्रीय उपाध्यक्ष पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । पछिल्लो समय संस्था भित्र देखिदै आएको खिचातानी, आरोप प्रत्यारोप र निस्वार्थ भावनाले सेवा गर्ने व्यक्तिहरु प्रति गरिएका अपमानजनक व्यवहारका कारण राजीनामा दिएको धितालले बताए ।
उनले लेखेका छन्–‘विगत लामो समयदेखि ब्लड डोनर्स सोसाइटी नेपालको केन्द्रीय समितिमा रही आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्दै आएको छु। तर पछिल्लो समय संस्थाभित्र देखिएको खिचातानी, आरोप–प्रत्यारोप तथा निस्वार्थ भावनाले सेवा गर्ने व्यक्तिहरूप्रति गरिएका अपमानजनक व्यवहारका कारण समितिमा रही प्रभावकारी रूपमा सेवा गर्न असहज भएको महसुस गरेको छु। यस परिस्थितिमा समितिमा रही आफ्नो जिम्मेवारी निर्वाह गर्न असमर्थ भएकाले आजको मितिदेखि लागू हुने गरी आफ्नो पदबाट राजीनामा पेश गरेको छु। संस्थाको आगामी यात्रा सफल रहोस् भन्ने शुभकामना व्यक्त गर्दछु।’
























