चितवन विशेष
चितवनमा नेपाली सेनाद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ४१३ जना लाभान्वित

चितवन, जेठ २३-
नेपाली सेनाको श्री नयाँ सबुज गणको आयोजना, खैरहनी नगरपालिकाको समन्वय तथा चितवन जिल्लाका विभिन्न अस्पतालहरूको सहकार्यमा खैरहनी नगरपालिका–४ चैनपुरस्थित नेपाल राष्ट्रिय भू.पू.सैनिक संघ, क्षेत्र नं.१, ईकाई नं.३ (कंकाली पिकनिक परिसर) मा एक दिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। ग्रामीण भेगका सर्वसाधारणलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको उक्त शिविरमा विशेषज्ञ चिकित्सकहरूले विभिन्न रोगहरूको परीक्षण तथा उपचार सेवा प्रदान गरेका थिए।
शिविरमा श्री नयाँ सबुज गणका गणपति प्रमुख सेनानी सुदिप कुमार तामाङ्ग, गणका ज्येष्ठ सेनानी, डा.अधिकृत, पदिक तथा अन्यदर्जा सैनिक, एनसीसी अल्मुनाई (NCC Alumni) सदस्यहरू, विशेषज्ञ गैरसैनिक चिकित्सक तथा चितवन जिल्ला भू.पू. सैनिक संघका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
प्रमुख सेनानी सुदिप कुमार तामाङ्गको कमाण्डमा १/२४ को नफ्रि तथा श्री नं.७ फिल्ड एम्बुलेन्स गुल्मबाट प्रा.सह.से. डा. सुनिल गुरुङको कमाण्डमा १/६ को नफ्रिसहितको टोली परिचालन गरिएको थियो। शिविरमा मौलाकालिका अस्पतालका ३ जना, भरतपुर आँखा अस्पतालका ४ जना तथा नेशनल सि.टी. अस्पतालका २ जना विशेषज्ञ चिकित्सकहरूको सहकार्य रहेको थियो।
शिविरमा जनरल फिजिसियन, छाला रोग, स्त्री रोग, हाडजोर्नी तथा नशा रोग र मधुमेह सम्बन्धी विशेषज्ञ सेवा उपलब्ध गराइएको थियो। स्वास्थ्य परीक्षणपछि बिरामीहरूलाई आवश्यकताअनुसार निःशुल्क औषधि समेत वितरण गरिएको नेपाली सेनाले जनाएको छ।
आर्थिक अभाव तथा स्वास्थ्य चेतनाको कमीका कारण समयमै उपचार पाउन नसकेका स्थानीय बासिन्दालाई लक्षित गरी आयोजना गरिएको शिविरबाट खैरहनी नगरपालिकाका २८० महिला र १३३ पुरुष गरी कुल ४१३ जना लाभान्वित भएका थिए।
नेपाली सेनाका अनुसार यस्ता स्वास्थ्य शिविरहरूले नागरिक–सैनिक सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै स्थानीय नागरिकको स्वास्थ्य समस्याको प्रारम्भिक पहिचान, उपचार तथा स्वास्थ्य सचेतना अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याएको छ।
शिविरलाई व्यवस्थित र प्रभावकारी बनाउन एनसीसी अल्मुनाईका स्वयंसेवक, स्वास्थ्यकर्मी, प्राविधिक टोली तथा स्थानीय जनप्रतिनिधिहरूको समेत सक्रिय सहभागिता रहेको थियो।

























