Breaking News

छानबिन समितिबाट सफाइ पाउनेमा आशावादी छु, पुनः गृहमन्त्री बने २ महिना तस्बिर खिच्न नआउनू: सुधन गुरुङ

Banner

काठमाडौँ, जेठ २४

पूर्व गृह मन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुधन गुरुङले आफ्नो सम्पत्तिको विषयमा उठेका प्रश्नहरूको छानबिनका लागि सहजीकरण गर्न आफूले मन्त्री पदबाट राजीनामा दिएको खुलासा गर्नुभएको छ । रास्वपा गोरखाको पहिलो जिल्ला अधिवेशन सत्रलाई सम्बोधन गर्दै सांसद गुरुङले सार्वजनिक पदमा रहँदा उठेका सवालहरूको जवाफ दिन आफू पूर्ण रूपमा जिम्मेवार बनेको बताउनुभयो ।

अधिवेशनलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “मैले सार्वजनिक पदमा बसेर काम गरेपछि उठेका प्रश्नहरूको सामना गर्नुपर्छ भनेरै छानबिन समितिसमक्ष बयान दिएको हुँ । बयानका क्रममा कतिपय प्रश्नहरू निकै कडा थिए, जसको मैले सोहीअनुसार सहज र स्पष्ट जवाफ दिएको छु ।”

छानबिन समितिसँगको त्यो ‘ठट्यौली’ प्रसंग

बयानका क्रममा घटेको एउटा रोचक प्रसंग कोट्याउँदै गुरुङले कार्यक्रममा ठट्यौली शैलीमा भन्नुभयो, “समितिले मलाई ‘यतिका सम्पत्ति कहाँबाट ल्याउनुभयो ?’ भनेर प्रश्न गर्‍यो । मैले पनि सहज रूपमा छानबिन समितिलाई नै ‘तपाईंको पनि सम्पत्ति छानबिन गरौँ न त’ भनेर प्रतिप्रश्न गरिदिएँ ।”

उहाँले छानबिन समितिको प्रतिवेदन अहिले प्रधानमन्त्री कार्यालयमा पुगिसकेको जानकारी दिँदै आफूले पूर्ण रूपमा सफाइ पाउनेमा आशावादी रहेको बताउनुभयो ।

“पुनः गृहमन्त्री बने २ महिना तस्बिर खिच्न नआउनू”

आफू निर्दोष सावित हुने र सरकारले पुनः गृह मन्त्रालयको जिम्मेवारी सुम्पिने सम्भावनाप्रति सङ्केत गर्दै गुरुङले एउटा फरक आग्रह समेत राख्नुभयो । उहाँले भन्नुभयो, “यदि समितिबाट सफाइ पाएर सरकारले मलाई पुनः गृहमन्त्री बनायो भने, मन्त्रालयमा आएर बधाई दिने र तस्बिर खिच्ने कामको लागि सुरुका दुई महिना कोही पनि नआइदिनुहोला ।” उहाँले कामलाई प्राथमिकता दिन यस्तो आग्रह गरिएको बुझाउनुभयो ।

पार्टी नेतृत्वलाई सुझावः “जिल्लाकै नेता जिल्लामै बस्नुपर्छ”

सम्बोधनका क्रममा सांसद गुरुङले रास्वपाको सङ्गठन निर्माण र आगामी नेतृत्वको कार्यशैलीका बारेमा पनि स्पष्ट धारणा राख्नुभयो । अब बन्ने जिल्ला सभापति राजधानी केन्द्रित हुन नहुने उहाँको तर्क थियो ।

“अब बन्ने सभापतिले जिल्लामै बसेर पार्टीका गतिविधिहरू अगाडि बढाउनुपर्छ,” गुरुङले भन्नुभयो, “राजधानीमा बसेर जिल्लाको सभापति बन्ने हो भने चुनावका बेला मात्र जनतामाझ पुगिन्छ, जसले पार्टीलाई फाइदा गर्दैन ।”

कार्यक्रममा उहाँले आफू गृह मन्त्री हुँदा आम जनताबाट अभूतपूर्व साथ र सहयोग पाएको स्मरण गर्दै निर्वाचनमा विजयी गराउने गोरखाका सम्पूर्ण मतदाताहरूलाई विशेष धन्यवाद समेत ज्ञापन गर्नुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>