Breaking News
मापसे गरेर चलाएका थिए अक्सफोर्ड कलेजका चालकले बस,मृतक साइकलयात्रीको शव अझै बुझेनन् परिवारले

चितवन,जेठ २१-
अक्सफोर्ड कलेज गैडाकोटको बसका चालकले मापसे (मादक पदार्थ सेवन) गरेर गाडी चलाएका कारण दुर्घटना भएको पुष्टि भएको छ । चितवनको भरतपुर महानगरपालिका–१६, बिजयनगर चोकस्थित भित्री सडक खण्डमा अक्सफोर्डको बसको ठक्करबाट बिहिबार एक साइकलयात्रीको मृत्यु भएको थियो । चालकले मापसे गरेको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी चन्द्रभुसन यादवले जानकारी दिनुभयो । उहाँले चालक र बस नियन्त्रणमा लिएको भन्दै पिडित परिवारका तर्फबाट जाहेरी दिने तयारी भएको बताउनुभयो ।
दुर्घटनामा परेर भरतपुर महानगरपालिका–१७ निवासी शुकराम चौधरीको मृत्यु भएको हो । बिहीबार अपरान्ह करिब ४ः१५ बजे भएको दुर्घटनामा परेर चौधरीको घटनास्थलमै मृत्यु भएपछि केहीबेर सो क्षेत्र तनावग्रस्त भएको थियो । नवलपुरको गैंडाकोटमा रहेको अक्सफोर्ड कलेजको ना १ क ७४९४ नम्बरको बसले साइकलमा सवार चौधरीलाई ठक्कर दिएपछि आक्रोशित स्थानीयले बस तोडफोड गरेका थिए । जनप्रतिनिधिको रोहबरमा पिडित पक्षसंग विहिबार रातीसम्म वार्ता भएको थियो । दुर्घटनास्थलमा रहेको बस र चालकलाई ठूलो संख्यामा प्रहरी परिचालन गरेर सुरक्षा दिइएको छ । कलजले परिवारलाई दिने क्षतिपूर्तिका बिषयमा समेत समहति नतिज पुगेको भरतपुर महानगरपालिकाका कार्यपालिका सदस्य गोपाल दराईले बताउनुभयो । जाहेरी र सहमती पश्चात शव परिवारले बुझ्ने उहाँले जानकारी दिनुभयो ।
























