चितवन विशेष

नेपाली सेनाद्वारा निर्मित पुस्तकालय र्‍याक देवघाटस्थित महेश सन्यास आश्रमलाई हस्तान्तरण

Banner

भरतपुर, जेठ १९-

पवित्र तीर्थस्थल देवघाटधाममा अवस्थित महेश सन्यास आश्रमद्वारा सञ्चालित रामानन्द अनुसन्धान केन्द्र एवं पुस्तकालयको सेवा विस्तारका लागि नेपाली सेनाले निर्माण गरेको व्यवस्थित पुस्तकालय र्‍याक हस्तान्तरण गरिएको छ । नेपाली सेनाको शीघ्र प्रभावी योजना (QIPs) अन्तर्गत श्री नयाँ सबुज गणले निर्माण गरेको २५ हजार पुस्तक अट्ने क्षमता भएको पुस्तक र्‍याक सोमबार एक औपचारिक कार्यक्रमबीच आश्रमलाई हस्तान्तरण गरिएको हो ।

श्री नं. ७ वाहिनी अड्डाका वाहिनीपति सहायक रथी विक्रम गुरुङले उक्त र्‍याक महेश सन्यास आश्रमका अध्यक्ष स्वामी रमाणानन्द गिरी लाई हस्तान्तरण गर्नुभयो । कार्यक्रममा श्री नं.७ वाहिनी अड्डाका प्रमुख सेनानी झलक लामा, श्री नयाँ सबुज गणका गणपति प्रमुख सेनानी सुदिप कुमार तामाङ, आश्रमका उपाध्यक्ष विश्वनाथ धिताल, व्यवस्थापन समितिका सदस्य फणिन्द्र पौडेल, व्यवस्थापक युवराज दाहाल, शिक्षक, शिक्षार्थी, स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी तथा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

नेपाली सेनाका अनुसार रामानन्द अनुसन्धान केन्द्र एवं पुस्तकालयमा निर्माण गरिएको उक्त शीघ्र प्रभावी आयोजना (QIPs) ले ऐतिहासिक, धार्मिक तथा लोपोन्मुख पुस्तकहरूको संरक्षण एवं सम्बर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ । साथै धार्मिक तथा ऐतिहासिक विषयमा अध्ययन–अनुसन्धान कार्यलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।

ऐतिहासिक तथा धार्मिक महत्व बोकेको देवघाट क्षेत्रमा निर्माण गरिएको यस योजनाले नागरिक–सैनिक सम्बन्धलाई अझ प्रगाढ बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने नेपाली सेनाले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>