चितवन विशेष
पौडी खेल्दा नारायणी नदीमा डुबेका बालक मृत भेटिए

भरतपुर,जेठ १९-
नारायणी पुल नजिक नारायणी नदीमा पौडी खेल्ने क्रममा डुबेका एक बालकको मृत्यु भएको छ भने अर्का बालकको उद्धार गरिएको छ। मंगलबार दिउँसो करिब ३ः२० बजेको समयमा चितवन भरतपुर महानगरपालिका–२ नारायणी कलामन्दिर नजिक घर भएका अन्दाजी ९ वर्षीय बिकल्प राना मगर र सोही स्थानका अन्दाजी ९ वर्षीय भुषणराम नदीमा डुबेका थिए।
डुबेको जानकारीपछि स्थानीयवासीले बिकल्प राना मगरलाई तत्काल उद्धार गरी उपचारका लागि सरकारी अस्पताल भरतपुर पठाएका थिए। उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। घटनापछि बागमती प्रदेश विपद् व्यवस्थापन गुल्म चितवन, इलाका प्रहरी कार्यालय गैँडाकोट तथा सशस्त्र प्रहरी बल गण नं. १७ हेडक्वाटर आँपटारी चितवनबाट गोताखोरसहित ९ जनाको टोली परिचालन गरी खोजतलास गरिएको थियो।
खोजतलासका क्रममा बेपत्ता भएका भुषणरामलाई घटनास्थलदेखि करिब २० मिटर दक्षिणतर्फ मृत अवस्थामा फेला पारेर सुरक्षित रूपमा बाहिर निकालिएको प्रहरीले जनाएको छ।


























