Breaking News
कंक्रिटमय काठमाडौंमा पोथीलाई आकर्षित गर्न तोप चारले लगायो आकर्षक गुँड

काठमाडौँ, जेठ १७-
तोप चरा (बया विभर) आफ्नो कलात्मक गुँड बुन्ने अद्भुत सीपका कारण परिचित चरामध्ये एक हो। प्रजनन मौसम सुरु भएसँगै भाले तोप चराहरू हरियो घाँसका डाँठहरू प्रयोग गरी आकर्षक र झुन्डिएका गुँड निर्माण गर्न व्यस्त देखिन्छन्। यी गुँड उनीहरूको बासस्थान मात्र नभई जोडी आकर्षित गर्ने माध्यम पनि हुन्। गर्मीयामको आगमनसँगै तोप चराहरू प्रजनन गतिविधिमा सक्रिय हुन्छन् र यही समयमा गुँड निर्माणको काम तीव्र रूपमा सुरु हुन्छ।
काठमाडौंको बल्खु क्षेत्रस्थित झलनाथ वे पुल नजिक रहेका रुखहरूमा तोप चराहरूले गुँड बनाउँदै गरेको दृश्य देख्न सकिन्छ। वरपरका जलक्षेत्र, खुला मैदान र वनस्पतिले यिनका लागि उपयुक्त बासस्थान प्रदान गरेका छन्। भाले चराले पोथीलाई आकर्षित गर्न र प्रजननका लागि गुँड निर्माण गर्छ।
पोथीले गुँडको बनावट, मजबुती र सौन्दर्यका आधारमा आफ्नो जोडी छनोट गर्ने भएकाले भालेहरू उत्कृष्ट गुँड बनाउन प्रतिस्पर्धा गर्छन्। आफ्नै चुच्चोको सहायताले हरियो घाँसका रेशा बुन्दै भाले चराले कलात्मक गुँड तयार पार्छ। हावामा झुन्ड्याइएका यी गुँडहरूले सर्पजस्ता शत्रु तथा प्रतिकूल मौसमबाट बच्न समेत मद्दत पुर्याउँछन्। प्रकृतिका कुशल शिल्पी मानिने तोप चराको यो मेहनत, धैर्यता र सिर्जनशीलताले जोकोहीलाई आकर्षित गर्छ।
तस्बिरहरु:सूर्याम्स उप्रेती/नेपाल फोटो लाइब्रेरी







































