चितवन विशेष

जगतपुर–माडी सडक खण्डलाई धुलोरहित बनाउन लायन्स क्लब माडी इकोको माग

Banner

चितवन, जेठ १४–

लायन्स क्लब अफ माडी इकोले जगतपुर–माडी सडक खण्डलाई धूलोरहित बनाउन माग गरेका छन् । क्लबका अध्यक्ष अर्जुन सापकोटा र सचिव प्रविन देवकोटाले चितवनका सहायक प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउँदै जगतपुर–माडी सडक खण्डलाई धूलोरहित बनाउन सरकारसंग माग गरेका हुन् ।

सडक सुविधा र विकासका अवसरको कमीका कारण सीमावर्ती माडी नगरपालिकाबाट बसाइँसराइ बढ्दै गएकोमा चिन्ता प्रकट गर्दै क्लबले माडीबाट बसाइसराई बढ्दै जानु राष्ट्रियता सीमाक्षेत्रको स्थायित्वसँग समेत जोडिए‌को संवेदनशील विषय भएको जनाएको छ । त्यसैले माडी क्षेत्रको विकास र सडक पूर्वाधारलाई राज्यले उच्च प्राथमिकता दिन आवश्यक रहेको उनीहरुको भनाई छ । माडीवासी र समग्र चितवनको विकाससँग जोडिएको माडी प्रवेश मार्गलाई तत्काल धुलोरहित, सुरक्षित र स्तरीय सडकका रूपमा निर्माण गर्न आवश्यक बजेट व्यवस्था गरी शीघ्र कार्यान्वयन गर्न तथा सडक निर्माणमा बाधा पुन्याइरहेका कानुनी तथा नीतिगत अवरोधहरू समेत तत्काल फुकाउन नेपाल सरकारसँग जोडदार माग गरिएको क्लबका सचिव प्रविन देवकोटाले जानकारी दिए ।

चितवन जिल्लाको माडी क्षेत्र ऐतिहासिक, सांस्कृतिक तथा सामाजिक दृष्टिले महत्वपूर्ण भूभाग हो। प्राचीनकालदेखि नै थारु आदिवासी तथा स्थानीय समुदायहरूको बसोबास रहँदै आएको यस क्षेत्रको पूर्वी चितवनसँग घनिष्ठ सामाजिक, वैवाहिक तथा आर्थिक सम्बन्ध रहँदै आएको छ। स्थानीय नागरिकहरूले पुस्तौंदेखि प्रयोग गर्दै आएको जगतपुर–माडी सडक माडीबासीको दैनिक जीवनसँग प्रत्यक्ष रूपमा जोडिएको महत्वपूर्ण मार्ग हो। तर चितवन राष्ट्रिय निकुञ्ज स्थापना भएपछि संरक्षणको नाममा उक्त सडकलाई व्यवस्थित र स्तरीकरण गर्न आवश्यक पहल हुन नसक्दा माडीवासीहरू दशकौंदेखि धुलाम्मे, जोखिमपूर्ण तथा कष्टकर यात्रा गर्न बाध्य छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>