चितवन विशेष
चितवनमा लागुऔषधसहित एक जना पक्राउ

भरतपुर, जेठ १३-
चितवन प्रहरीले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार राप्ती नगरपालिका–१ डिपाड क्षेत्रमा प्रतिबन्धित लागुऔषध बिक्री वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो ।
इलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरी टोलीले राप्ती नगरपालिका–१२ का २९ वर्षीय चन्द्र बहादुर तामाङलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनको साथबाट खैरो हिरोइन जस्तो देखिने पदार्थ बरामद गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार प्लाष्टिकसहित तौल गर्दा ९ ग्राम र प्लाष्टिक हटाई तौल गर्दा २ ग्राम ७० मिलिग्राम लागूऔषध फेला परेको थियो । साथै नगद ८ हजार रुपैयाँ र रियलमी कम्पनीको टच मोबाइल समेत बरामद गरिएको छ ।
पक्राउ परेका तामाङलाई लागूऔषध सम्बन्धी कसुरमा चितवन जिल्ला अदालतबाट १३ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।


























