चितवन विशेष
दैनिक ३ सय बिरामीको उपचार गर्दै शिवनगर प्राथमिक स्वास्थ्य केन्द्र

भरतपुर,जेठ १२-
चितवनको भरतपुर महानगरपालिका–१४ स्थित शिवनगर प्राथमिक स्वास्थ्य केन्द्रले दैनिक करिब तीन सय बिरामीलाई स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । सिमित जनशक्ति र संरचनाबीच पनि केन्द्रले विशेषज्ञ सेवासहितको उपचार उपलब्ध गराउँदै आएको हो । शिवनगर प्राथमिक स्वास्थ्य केन्द्रका इन्चार्ज तथा मेडिकल अधिकृत डा. सुनिल लामाका अनुसार स्वास्थ्य केन्द्रमा दैनिक २ सय ५० देखि ३ सय जनासम्म बिरामी उपचारका लागि आउने गरेका छन् । “धेरै नागरिकले स्वास्थ्य बीमा गर्नुभएको छ । यहाँ आउने अधिकांश बिरामी बीमामार्फत सेवा लिन आउनुहुन्छ,” उहाँले भन्नुभयो । यहाँ पश्चिम चितवनका धरै वडाका विरामी उपचारका लागि शिवनगर प्राथमिक स्वास्थ्य केन्द्र आउने गरेको उहाँले बताउनुभयो ।
स्वास्थ्य केन्द्रमा हाल तीन जना मेडिकल अधिकृत कार्यरत छन् । केन्द्रले पुरानो मेडिकल कलेजसँग सहकार्य गरी विभिन्न विशेषज्ञ चिकित्सकमार्फत सेवा सञ्चालन गर्दै आएको छ । सोमबार फिजिसियन सेवा, मंगलबार हाडजोर्नी सेवा, बुधबार स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा, बिहीबार आँखा तथा बालरोग सेवा र शुक्रबार रेडियोलोजी सेवा उपलब्ध गराउँदै आएको छ । हाडजोर्नी बिशेषज्ञ समेत रहनुभएका इन्चार्ज डा.लामाले साताभर आफूले विरामी जाँच गर्दै आएको बताउनुभयो ।
लामाका अनुसार प्राथमिक स्वास्थ्य केन्द्रको मूल उद्देश्य रोग रोकथाम र सामान्य उपचार भएपनि यहाँ दैनिक ठूलो सङ्ख्यामा उपचार सेवा दिनुपरेको अवस्था छ । “सीमित कर्मचारी र संरचनाका कारण काम गर्न चुनौती छ । अहिलेको संरचनाले धान्न गाह्रो भइरहेको छ । यसलाई अस्पतालका रूपमा विकास गर्न आवश्यक छ,” उहाँले भन्नुभयो ।
उहाँले स्वास्थ्य केन्द्रलाई नगर अस्पतालका रूपमा विकास गर्ने निर्णय भइसकेको जानकारी दिँदै कार्यान्वयन प्रक्रियामा जान बाँकी रहेको बताउनुभयो । घर नजिकै विशेषज्ञ सेवा पाउँदा स्थानीय नागरिक पनि सन्तुष्ट देखिएका छन् । भरतपुर २० का गोपाल प्रसाद कोइरालाले पहिले सामान्य उपचारका लागि पनि भरतपुर अस्पताल धाउनुपर्ने अवस्था अन्त्य भएको बताउनुभयो । “अहिले यहीँ उपचार गराउन थालेका छौं । सहज भएको छ । जटिल समस्या भए यहाँबाट रिफर गरेर अन्य अस्पताल जाने गरिएको छ,” उहाँले भन्नुभयो । कोइरालाका अनुसार भरतपुर अस्पतालमा लामो लाइन र औषधि अभावको समस्या हुने गरे पनि शिवनगर स्वास्थ्य केन्द्रमा सहज रूपमा सेवा पाइने गरेको छ ।
केन्द्रको स्वास्थ्य व्यवस्थापन समितिको अध्यक्ष समेत रहनुभएका भरतपुर १४ का वडाध्यक्ष राजेन्द्र साँखीले २०७९ मा आफू वडाध्यक्ष भएपछि स्वास्थ्य केन्द्रमा उल्लेखनीय सुधार गरिएको बताउनुभयो । “यसअघि स्वास्थ्य केन्द्रको अवस्था कमजोर थियो । बीमा कार्यक्रम लागू भए पनि पर्याप्त सेवा सुविधा थिएन । अहिले आन्तरिक स्रोत व्यवस्थापन गरेर धेरै सुधार गरेका छौं,” उहाँले भन्नुभयो ।
नामले प्राथमिक स्वास्थ्य केन्द्र भए पनि अहिलेको सेवा सुविधा दुर्गम जिल्लाका जिल्ला अस्पताल वा सहरका नगर अस्पतालसरह पुगेको उहाँले बताउनुभयो । आन्तरिक स्रोतबाट १५–१६ जना प्राविधिक र कर्मचारी व्यवस्थापन गरिएको भन्दै अध्यक्ष साँखीले अघिल्लो कार्यपालिका बैठकबाट स्वास्थ्य केन्द्रलाई नगर अस्पतालका रूपमा विकास गर्ने निर्णय भइसकेको जानकारी दिनुभयो । “आगामी नगरसभाबाट अनुमोदन भएपछि सम्बन्धित मन्त्रालयमार्फत प्रक्रिया अघि बढाउने तयारीमा छौं,” उहाँले भन्नुभयो । सीमित स्रोतसाधन र आर्थिक चुनौतीबीच पनि सेवा विस्तार रोक्न नसकिने अवस्थामा पुगेको उहाँको भनाई छ । “तलब आन्तरिक स्रोतबाट व्यवस्थापन गर्नुपरेको छ । चुनौती छन्, तर त्यसैले हात बाँधेर बस्ने अवस्था छैन । समस्या समाधान गर्दै सेवा विस्तार गरिरहेका छौं,” साँखीले भन्नुभयो ।
वि.सं. २०२७ सालमा स्थापना भएको शिवनगर प्राथमिक स्वास्थ्य केन्द्रमा हाल तीन जना मेडिकल अधिकृत, पाँच जना नर्सिङ कर्मचारी, चार जना प्रयोगशालाकर्मी, दुई जना फार्मेसिस्ट, एक जना रेडियोग्राफरसहित करिब ३० जना कर्मचारी कार्यरत रहेका छन् ।

























