मनोरञ्जन

‘काजी’बारे बोले विपिन र केकीः यो आदर्श बोकेको फिल्म हो

Banner

काठमाडौं, वैशाख ३१-

गत मंगलबार सार्वजनिक गरिएको चलचित्र ‘काजी’को ट्रेलरबारे बिहीबार आयोजित समीक्षात्मक कार्यक्रममा कलाकारहरूले चलचित्रको कथा, पात्र र भावनात्मक पक्षबारे आफ्नो धारणा राखेका छन् ।

कार्यक्रममा बोल्दै कलाकार विपिन कार्कीले ‘काजी’ पात्रलाई दर्शकले पहिल्यैदेखि चिनेको भएपनि चलचित्रमा भएको ‘काजी’ फरक रहेको बताए ।

उनले भने, ‘दयाहाङ राई दाइले ‘कवड्डी’मा स्थापित गरेको क्यारेक्टर काजी हो भन्ने सबैलाई थाहा छ । तर त्यहाँ काजी एउटा नाम थियो । यो फिल्ममा काजी बाबुबाजेदेखिको एउटा लिगेसी हो । त्यसैले त्यो काजी र यो काजीबीच फरक छ ।’

उनले काजी पात्रको चरित्रबारे थप्दै भने, ‘काजी भनेको आदर्श बोकेर हिँड्ने पुरुष हो । काजीको सोच अनुसार साली पनि बहिनी नै हो । पहिले पनि सँगै काम गरिसकेका थियौँ, त्यसैले काम गर्न सहज भयो ।’

यस्तै, कलाकार केकी अधिकारीले ट्रेलरले प्रचलित शैलीभन्दा फरक ढंगले कथा प्रस्तुत गरेको बताइन् ।
‘अहिले ट्रेलरलाई अत्यधिक नाटकीय बनाउने ट्रेन्ड चलिरहेको बेला ‘काजी’ले आफ्नो प्राथमिकता कायम राखेर कथा भन्न खोजेको छ । त्यो कुरा मन परेर मैले आफ्ना साथीहरूलाई पनि ट्रेलर पठाएकी थिएँ,’ उनले भनिन् ।

चलचित्रको भावनात्मक पक्षबारे उनले थप भनिन्, ‘काजीको संसार माया र विश्वासमा अडिएको छ । कसैलाई धेरै माया गर्दा आफूले बढी दिएको जस्तो लाग्छ । तर ‘कजिनी’लाई भने काजीले गरेको जस्तो माया सात जुनीमा पनि फर्काउन सक्दिनँ जस्तो लाग्छ ।’

चलचित्रमा विपिन ‘काजी’ र केकी ‘कजिनी’को भूमिकामा देखिएका छन् । चलचित्रमा गरिमा शर्मा, प्रकाश घिमिरे, हेमन्त बुढाथोकी, विशाल पहारी, विनोद न्यौपाने, रश्मी भट्ट, हिउँवाला गौतम, सन्दीपबाबु लोहनी, रोजी श्रेष्ठ, गंगा शर्मा, नवराज गिरि, बुद्धिसागर खनाल, प्रशंसा सुवेदी, कृतिका शर्मा तथा बाल कलाकार दीक्षिता अर्याललगायतको अभिनय रहेको छ ।

रामप्रसाद रिजालको प्रस्तुती रहेको चलचित्रलाई लक्ष्मण रिजालले निर्देशन गरेका हुन् । प्रदीप भारद्वाजको लेखन रहेको चलचित्रमा चिन्तन राजभण्डारीको छायांकन, कालीप्रसाद बाँस्कोटाको संगीत, ओजस्वी ओझाको प्रोडक्सन डिजाइन, श्याम कुँवरको रंग संयोजन, सागर अर्यालको साउन्ड डिजाइन र सुजिल कर्माचार्यको पाश्र्व संगीत रहेको छ ।

चलचित्रको क्रिएटिभ हेड रोनाल्ड श्रेष्ठ, नृत्य निर्देशक कविराज गहतराज, प्रोडक्सन हेड प्रकाश हमाल, सम्पादन सुपरभाइजर बनिश शाह तथा सम्पादक विपिन मल्ल रहेका छन् ।

चलचित्रका कार्यकारी निर्माता असिम काफ्ले तथा निर्माता नेहान रिजाल र विकासराज जोशी हुन्। चलचित्रलाई श्रीराम बालाजी फिल्मस्ले नेपालभर वितरण गर्नेछ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>