Breaking News
भारतीय नाकाबाट अवैध रूपमा आउने केरा नबेच्ने भन्दै बहिष्कार गरेपछि नेपाली बजारमा केराको हाहाकार

काठमाडौं, वेशाख ८ –
स्थानीय बजारमा केराको हाहाकार देखिएको छ । खासगरी व्यवसायीले भारतीय नाकाबाट अवैध रूपमा आउने केरा नबेच्ने भन्दै बहिष्कार गरेपछि बजारमा केराको हाहाकार भएको हो ।
केराको आन्तरिक उत्पादन कमजोर भएको र अवैध केरा जनस्वास्थ्यका लागि पनि प्रतिकूल भएको भन्दै व्यापारीले बेच्न छाडेका छन् । सोही कारण बजारमा केरा अभाव भएको व्यापारीहरूको भनाइ छ ।
नेपाल फलफूल थोक व्यवसायी संघका अध्यक्ष अमर बानियाँले बजारमा देखिएको मूल्यवृद्धि कृत्रिम नभई आपूर्ति अभावका कारण भएको बताए । उनका अनुसार, केही महिनाअघिसम्म भारतबाट अवैध रूपमा ठूलो मात्रामा केरा भित्रिन्थ्यो । तर, संघकै पहलमा त्यस्ता अवैध केराको बिक्रीवितरणमा रोक लगाइएपछि बजारमा एकाएक आपूर्ति घटेको हो ।
“नेपाल फलफूल थोक व्यवसायी संघ र महासंघ हाम्रो छाता संगठनले अवैध भित्रिएका केरा बेच्न बन्देज गरेको हो,” अध्यक्ष बानियाँले भने, “महासंघको पहलमा हामीले सम्पूर्ण बजारमा बन्देज गरेका छौँ, जसले गर्दा एकैचोटि बजार खाली भयो ।”
नेपालको उत्पादन अत्यन्तै कम भएको र अवैध रूपमा आयात हुने केरा रोकेपछि मूल्य बढेको उनले बताए ।
अध्यक्ष बानियाँका अनुसार, हाल गुणस्तरीय केरा अभाव छ । केही स्थानमा प्रतिदर्जन ३०० देखि ३५० रुपैयाँसम्म तिर्नुपर्ने बाध्यता छ ।
बानियाँले कमजोर अनुगमनका कारण भारतीय केरा नेपाली उत्पादनका नाममा बजारमा प्रवेश गरिरहेको बताउँदै यसलाई अझ कडाइका साथ रोक्नुपर्ने बताए ।
किसानले भने आफूहरूले ५० देखि ८० रुपैयाँ प्रतिदर्जनमा केरा बजारमा पठाएको दाबी गर्दै बीचका व्यवसायीले मूल्य बढाएको आरोप लगाउँदै आएका छन् । तर, बानियाँले यसलाई अस्वीकार गरे ।
उनका अनुसार, अहिले बजारमा उपलब्ध धेरैजसो नेपाली केरा गुणस्तरहीन रहेको र उपभोक्ताले नकिन्दा खुद्रा व्यापारीसमेत मारमा परेका छन् । किसानले उत्पादन गर्दा ग्रेडिङ र प्याकेजिङमा ध्यान दिनुपर्छ, नत्र बजारमा बेच्न कठिन हुने उनको भनाइ छ ।
सरकारले करिब ८० प्रतिशत आत्मनिर्भरता दाबी गरिरहेको भए पनि वास्तविक उत्पादन ३० प्रतिशत हाराहारी मात्र रहेको बानियाँको भनाइ छ । उहाँले क्रमिक रूपमा आयात नियन्त्रण गर्दै उत्पादन बढाउने नीति लिनुपर्ने सुझावसमेत दिए ।
बानियाँका अनुसार, किसान र व्यवसायीबीच समन्वयको अभाव छ । राज्यले किसान र व्यवसायीलाई नङ–मासुजस्तो बनाउनुपर्नेमा उल्टै फाटो ल्याएको उनले गुनासो गरे । न्युज एजेन्सी नेपाल
























