चितवन विशेष
लागूऔषध नियन्त्रणमा निर्मम ढंगले लाग्न सुरक्षाकर्मीलाई गृहमन्त्रीको निर्देशन

भरतपुर, चैत २९-
गृहमन्त्री सुदन गुरुङले लागूऔषध लगायतका अपराधिक क्रियाकलाप नियन्त्रणका लागि निर्मम ढंगले लाग्न सुरक्षाकर्मीलाई निर्देशन दिनुभएको छ । आज (आइतबार) भरतपुरस्थित नेपाल प्रहरी शिक्षालयमा जिल्लाका सुरक्षा निकाय प्रमुखहरुलाई गृहमन्त्री गुरुङले जिल्लामा सुशासन कायम गर्न, लागूऔषधलगायतका घटना नियन्त्रणका लागि कडाइका साथ कारवाही प्रक्रिया अघि बढाउन निर्देशन दिनुभयो । उहाँले जनताले महसुस गर्नेगरी चुस्त दुरुस्त सेवा दिन निर्देशन दिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीले जानकारी दिनुभयो ।
भरतपुरस्थित नेपाल प्रहरी शिक्षालयमा रात विताउनुभएका गृहमन्त्री गुरुङले यहाँको सुरक्षाको बारेमा प्रदेश र जिल्लाका सुरक्षा निकायसंग जानकारी समेत लिनुभएको थियो । उहाँले आइतबार चितवनका विभिन्न ठाउँको निरीक्षण र अवलोकन समेत गर्नुभयो ।
मुख्यगरी राजमार्गमा देखिएका समस्याहरुलाई छिटो हल गर्ने उद्देश्यसहित शनिबार राति चितवन आइपुग्नुभएका गृहमन्त्री गुरुङ राति नै नारायणगढ–मुग्लिन सडक खण्डमा धेरै पहिरोले समस्या निम्त्याउने घोप्टेभिर, तुईन खोलालगायतको क्षेत्रको स्थलगत अवलोकन गर्दै वर्षायाममा पुरानै समस्या नदोहोरिने गरि छिटो काम गर्न निर्देशन दिनुभएको थियो । विपद्जन्य घटनाले लामो समय सम्मनै मुख्य राजमार्ग बन्द हुँदा समस्या भोग्दै आउनु परेकाले त्यसलाई रोक्न गृहमन्त्री गुरुङको चासो थियो ।
गृहमन्त्री गुरुङले बाटोमा विभिन्न व्यक्तिहरुसंग भेटघाटसंगै आफू एसएलसी उत्तीर्ण गरेको विद्यालय भरतपुर–२६, ज्योतिनगरस्थित कालिका संस्कारकुलम सेकेण्डरी स्कुल पुग्नुभएको थियो । त्यहाँ शिक्षक र स्थानीयहरुले उहाँको स्वागत गरेका थिए । गृहमन्त्री गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं चितवन क्षेत्र नं.२ बाट निर्वाचित सांसद रवि लामिछानेको सचिवालय समेत केहीबेर पुगेर पार्टीका नेताहरुसंग भेटघाट गर्नुभएको थियो । गृहमन्त्री गुरुङ पूर्वपश्चिम राजमार्ग अन्तरगत दाउन्ने सडक खण्डको निरीक्षण गर्न नवलपरासी पूर्व प्रस्थान गर्नुभएको छ ।



























