Breaking News

रविलाई देवराजको प्रतिप्रश्नः जिते पनि पदमा बहाल नरहने अवस्थामा कुन नैतिकताले मत माग्दै हुनुहुन्छ ?

Banner

काठमाडौं,फागुन २१-

नेकपा एमाले झापा २ का उम्मेदवार समेत रहेका निवर्तमान सभामुख देवराज घिमिरेले रास्वपा सभापति रवि लामिछानेले ‘जनताको आवाज उठाउँदा माइक काट्ने सभामुख’ भनेर आफू विरुद्ध घृणा फैलाउने काम गरेको भन्दै आपत्ति जनाएका छन्।

झापा २ पुगेका सभापति लामिछानेले घिमिरेलाई लक्षित गर्दै ‘जनताको आवाज उठाउँदा माइक काट्नुहुन्थ्यो, कुन मुखले भोट माग्दै हुनुहुन्छ ?’ भन्दै टिप्पणी गरेका थिए। रविको यो टिप्पणीलगत्तै विज्ञप्ति जारी गर्दै घिमिरेले लोकतान्त्रिक अभ्यासमा, उम्मेदवार वा दलले आफ्नो कार्यक्रम, योजना र जनताका लागि आफ्ना एजेन्डाहरू प्रस्तुत गर्ने भन्दै घृणा, व्यक्तिगत आरोप वा विभाजन फैलाउने कुरा चुनावी प्रतिस्पर्धामा लामो समयसम्म नटिक्ने जवाफ फर्काएका छन्।

विज्ञप्तिमा भनिएको छ, ‘जहाँसम्म संसदमा हरेक सदस्यले आफ्नो अभिव्यक्ति गर्ने अधिकार छ । तर, संसदीय अभ्यास अनुसार सबै वक्ताहरूको वक्तव्यलाई समान अवसर दिन र क्रमिक रूपमा छलफल सम्पन्न गर्न समय निर्धारण हुन्छ । माइक काट्नेरकाटिने विषय सभामुखको व्यक्तिगत विचारले होइन, संसदमा पूर्वनिर्धारित समय र नियमावली अनुसार गरिएको हुन्छ ।’

उनले सभापति लामिछानेलाई संसदीय अभ्यासबारे सामान्य जानकारी समेत नभएको उनको भनाइ छ । घिमिरेले भनेका छन्, ‘संसदीय अभ्यासको सामान्य जानकारी हुनेले यति कुरा नबुझ्ने भन्ने हुँदैन । उहाँ संसद्को अभ्यास गरेर आउनुभएको व्यक्ति हो । संसद्को वेबसाइटमा गएर हेर्न सकिन्छ– मैलेमात्र होइन उपसभामुख वा सभाको चेयर गरिरहेका अन्य माननीय भएका बेलामा पनि माइक काटिएको छ । अझ बढी काटिएको हुनुपर्दछ ।’

झापा २ मा एउटै कार्यकालका सभामुख, उपसभामुख र प्रतिनिधि सभा सदस्य नै उम्मेदवार रहेकाले प्रतिस्पर्धी उम्मेदवारबारे टिप्पणी नगर्ने प्रतिबद्धता यसअघि नै गरिसकेको जानकारी गराएका छन्। उनले थपेका छन्, ‘रविजीले फैलाएको घृणाप्रति म खेद व्यक्त गर्दछु । तपाईँलाई जवाफ दिँदै म पनि भन्न सक्छु- आफू निर्वाचित भएपछि सांसद पदमा बहाल रहन सक्ने कानुनी आधारसमेत नभएको अवस्थामा कुन नैतिकताले मत मागिरहनुभएको छ ? तर म आक्षेप र आफूमाथि देखिन अरूलाई अपराधी देख्ने प्रवृत्तिको पक्षमा छैन । आफू माथि प्रतिशोध भएको भन्दै जनतालाई भावनामा बहकाउँदै अरूविरूद्ध अफवाह, घृणा र लान्छाना नलाउन अपिल गर्दछु ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>