Breaking News

गगन थापाको ‘मधेस प्रतिज्ञा’: कांग्रेस आफ्नो प्रतिज्ञाबाट एक इन्च पनि पछि हट्नेछैन

Banner

जनकपुर, फागुन ६–

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशको राजनीतिक र विकासको शैली बदल्ने ‘प्रतिज्ञा’ गरेका छन् ।

मधेसलाई ‘अन्नको भण्डार र ज्ञानको केन्द्र’ को रूपमा पुनःस्थापित गर्ने संकल्पसहित थापाले अब कांग्रेसले केवल घोषणापत्र मात्रै नछाप्ने, बरु प्रत्येक शब्दको अक्षरशः पालना गर्ने प्रतिबद्धता जनाए। उनले भने, ‘कसैले लेखेको भाषण पढ्न म यहाँ आएको होइन। सर्लाहीबाट म काठमाडौं गएर मेरो टिमसँग बसेर आफैले के के राख्ने भनेर एक एक अक्षर केलाएर प्रतिज्ञा पत्र तयार गरेको हुँ। यो प्रतिज्ञा पत्र चाहे सरकारमा हुँदा होस या प्रतिपक्षमा कांग्रेसका सबै नेता कार्यकर्ताले पालना गर्नेछन्।

उनले मधेससँगको सम्बन्धलाई राजनीतिक लाभ–हानीभन्दा माथि उठेर ‘बेटा र माटो’ को सम्बन्धका रूपमा व्याख्या गरे ।

‘मधेसको बेटा हुन आएको हुँ’

थापाले मधेसी पहिचान र सम्मानको मुद्दालाई गम्भीरताका साथ उठाए । ‘म यहाँ मधेसको नेता हुन होइन, बेटा हुन आएको हुँ,’ भन्दै उनले थपे, ‘मेरो नसामा मधेसी आमाको रगत नहोला, तर मेरो छातीमा दुर्गानन्द झाको शाहस र आँखामा महेन्द्र नारायण निधिको सपना छ ।’ उहाँले अब सिंहदरबार छिर्दा मधेसीले आफ्नो धोती–कुर्ता लुकाउनु नपर्ने र गर्वका साथ ‘हम मधेसी छी’ भन्नसक्ने वातावरण काँग्रेसले निर्माण गर्ने उद्घोष गरे ।

राजा जनकको प्रतिज्ञा र कांग्रेसको नयाँ बाटो

जा जनकले सीताको विवाहका लागि लिएको प्रतिज्ञा र भगवान रामले धनुष उठाएर गरेको विजयलाई स्मरण गर्दै थापाले कांग्रेसको आगामी यात्रा ‘प्रतिज्ञा’ मा आधारित हुने बताए। ‘

यो शक्तिको विजय मात्र होइन, यो प्रतिज्ञाको विजय हो,’ थापाले भने, ‘आज म जे बोल्दैछु, यो प्रतिज्ञा हो । सरकारमा हुँदा होस् वा सडकमा, कांग्रेस आफ्नो प्रतिज्ञाबाट एक इन्च पनि पछि हट्नेछैन । हामीले २७ वटा क्षेत्रमा ७ वर्ष लगाएर अध्ययन गरी यो प्रतिज्ञा तयार पारेका छौँ । हामी यसको अक्षर अक्षर पालना गर्छौ।’

शिक्षा र स्वास्थ्यमा क्रान्तिः मधेसलाई पुनः ‘ज्ञानको केन्द्र’ बनाउने अठोट

थापाले मधेसको खस्कँदो शैक्षिक स्तरप्रति चिन्ता व्यक्त गर्दै गणित र विज्ञानको पढाइ सुधार्ने विशेष योजना अघि सारे । स्वास्थ्य क्षेत्रमा उहाँले ‘एक रुपैयाँ तिर्नु नपर्ने’ स्वास्थ्य बीमा प्रणालीको ग्यारेन्टी गरे। कतारमा पसिना बगाएर कमाएको पैसा आमाको उपचारमा सकिने दिनको अन्त्य गर्ने उनको संकल्प छ ।

‘कुनै बेला पहाडका मान्छे गणित सिक्न मधेस आउँथे, आज यहाँकै विद्यालय कमजोर छन्,’ उनले भने ।

किसान र वैदेशिक रोजगारीः पसिनाको मूल्य र भविष्यको ग्यारेन्टी

मधेसका उखु र आलु किसानको समस्यालाई नजिकबाट नियालेको बताउँदै थापाले यस दशकलाई ‘किसानको दशक’ बनाउने घोषणा गरे । वैदेशिक रोजगारीमा रहेका युवाहरूका लागि सरकारले दुतावासमार्फत विशेष हेरचाह गर्ने र उनीहरू फर्कंदा कुनै न कुनै व्यवसायको मालिक बन्ने वातावरण निर्माण गर्ने योजना उनले सुनाए।

‘४ खर्बको कृषि उपज आयात गर्ने देशलाई हामी आफ्नै उत्पादनले आत्मनिर्भर बनाउनेछौँ’ उनले भने ।

निषेधको होइन, सबैलाई जोड्ने राजनीतिको वकालत

कांग्रेस एक्लैले देश बदल्न नसक्ने स्वीकार गर्दै थापाले ‘टिम नेपाल’ को अवधारणा ल्याए। थापाकाअनुसार यो टिमले अर्को पार्टीलाई होइन, बरु नेपालको कुशासन, गरिबी र बेरोजगारीलाई हराउनेछ ।

उनले ३२ जना उम्मेदवारहरूलाई घर–घर गएर ‘बदलिएको कांग्रेस’ को सन्देश प्रवाह गर्न निर्देशन समेत दिए । उनले भने, घर घरमा जानुस् र नडराइकन भन्नुस् हामी यी कामहरू गर्न आएको हौ। हामीलाई मत दिनुस्। सबैलाई भन्नुस्। मतदाताको कुरा सुन्नुहोस् र आफ्नो प्रतिज्ञा सुनाउनुहोस्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>