चितवन विशेष
निरन्तर उत्कृष्ट नतिजा हासिल गर्दै सेन्ट्रल मोडेल कलेज,बिएचएम दोस्रो सेमेस्टरमा पनि ८० प्रतिशत बढि विद्यार्थी उत्तिर्ण

भरतपुर,फागुन ६-
चितवन जिल्लामा गुणस्तरीय उच्च शिक्षाको पर्याय बन्दै आएको सेन्ट्रल मोडेल कलेजले पुनः एकपटक शैक्षिक क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ। शैक्षिक सत्र २०८२ को विएचएम र विआइटिएम कार्यक्रममा विद्यार्थीहरूले उत्कृष्ट नतिजा ल्याउँदै संस्थाको शैक्षिक स्तर, व्यवस्थापन क्षमता र शिक्षण पद्धतिको प्रभावकारिता प्रमाणित गरेका छन्। विशेषगरी बिएचएम दोस्रो सेमेस्टरमा ८० प्रतिशतभन्दा बढी विद्यार्थीउत्तीर्ण हुनुले कलेजको शैक्षिक वातावरण र विद्यार्थी केन्द्रित शिक्षण प्रणालीको सफलता स्पष्ट देखाएको छ।
संस्थाका अध्यक्ष यज्ञ विलास (वाइबी) पौडेलले नतिजाप्रति खुशी व्यक्त गर्दै कलेजले चितवनमै शैक्षिक उत्कृष्टताको नयाँ मापदण्ड स्थापित गरेको बताए। उनले भने,“हामीले गुणस्तरमा कुनै सम्झौता नगर्ने नीति अपनाएका छौं। यही कारण विद्यार्थी र अभिभावकको विश्वास दिनप्रतिदिन बढ्दै गएको छ। भविष्यमा पनि शैक्षिक सुधार, पूर्वाधार विस्तार र अन्तर्राष्ट्रिय सहकार्यलाई प्राथमिकतामा राख्दै अघि बढ्नेछौं।”
कलेजका प्रिन्सिपल डा. टिआर चालिसेका अनुसार विएचएम कार्यक्रमको उत्कृष्ट नतिजाको मुख्य आधार आधुनिक प्रविधियुक्त शिक्षण, नियमित प्रायोगिक अभ्यास, उद्योगसँगको सहकार्य र अनुभवी प्राध्यापकहरूको मार्गदर्शन हो। उनका अनुसार कलेजमा अत्याधुनिक किचन र सर्भिस ल्याब, स्मार्ट कक्षा, होटल इन्टर्नसिप, अतिथि व्याख्यान र उद्योग भ्रमणजस्ता सुविधा उपलब्ध छन्। “हामी विद्यार्थीलाई केवल सैद्धान्तिक ज्ञान होइन, अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने व्यवहारिक सीप विकासमा केन्द्रित छौं,” उनले भने, “आगामी दिनमा थप पूर्वाधार र प्रविधि विस्तार गरी अझ गुणस्तरीय शिक्षा प्रदान गर्ने हाम्रो लक्ष्य छ।” साथै उनले अभिभावक, शिक्षक तथा कर्मचारीको सामूहिक प्रयासले नै यस्तो उल्लेखनीय उपलब्धि सम्भव भएको बताए।
बिएचएम दोस्रो सेमेस्टर टपर निशा विकले कलेजको शैक्षिक वातावरण, अत्याधुनिक ल्याब र शिक्षकको व्यक्तिगत मार्गदर्शनले आफूलाई विदेशमै अध्ययन गरिरहेको अनुभूति दिलाएको बताइन्। उनका अनुसार यहाँ प्राप्त हुने नियमित प्रायोगिक अभ्यास, प्रस्तुति प्रशिक्षण र मूल्याङ्कन प्रणालीले आत्मविश्वास, नेतृत्व क्षमता र पेशागत दक्षता उल्लेखनीय रूपमा वृद्धि गरेको छ। अर्का टपर प्रज्वल आचार्यले पनि कलेजको अनुशासित तालिका, व्यावहारिक सिकाइ र अन्तर्राष्ट्रिय अवसरमुखी कार्यक्रमका कारण विद्यार्थीहरू विश्वस्तरीय प्रतिस्पर्धाका लागि तयार भइरहेको बताए। उनले भने, यस्तो वातावरणले अध्ययनलाई मात्र होइन, करियर निर्माणलाई पनि स्पष्ट दिशा दिएको छ।
यसैबीच, नयाँ शैक्षिक सत्रका लागि विएचएम पहिलो सेमेस्टरमा भर्ना खुल्नेबित्तिकै सबै ६६ सिट पूर्ण रूपमा भरिनु कलेजको लोकप्रियताको अर्को प्रमाण बनेको छ। चितवन जिल्लामा यसरी सीमित समयमा सबै सिट भरिने कलेजको रूपमा संस्थाले विशिष्ट पहिचान बनाएको छ। शैक्षिक विश्लेषकहरूका अनुसार यस्तो माग हुनुको मुख्य कारण उत्कृष्ट नतिजा, अनुभवी शिक्षक, आधुनिक सुविधा र विद्यार्थीमैत्री वातावरण हो।
कलेजका विएचएम प्राक्टिकल इन्चार्ज चिरन्जिवी श्रेष्ठका अनुसार कलेजको दैनिक तालिका पनि विद्यार्थीका लागि विशेष आकर्षणको रूपमा रहेको छ—बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म कक्षा र प्राक्टिकल सञ्चालन गरिन्छ, जसले उनीहरूलाई वास्तविक व्यावसायिक जीवनशैलीमा अभ्यस्त बनाउँछ। उनले भने, प्राक्टिकल हुने दिन बिहानको खाना कलेजमै उपलब्ध गराइने व्यवस्था, विद्यार्थीलाई समय व्यवस्थापन र सिकाइमा पूर्ण ध्यान केन्द्रित गर्न सहयोग पुर्याउने उद्देश्यले गरिएको हो। यसले विद्यार्थीलाई केवल ज्ञान मात्रै नभई व्यावसायिक दक्षता र अनुशासनमा पनि तयार बनाउने विश्वास व्यक्त गरेका छन्।
विद्यार्थीहरूले पनि कलेजको शैक्षिक प्रणालीप्रति सकारात्मक प्रतिक्रिया दिएका छन्। उनीहरूका अनुसार यहाँ अध्ययन गर्दा शिक्षकहरूको व्यक्तिगत मार्गदर्शन, नियमित मूल्याङ्कन, प्रस्तुति अभ्यास तथा प्रोजेक्ट आधारित सिकाइले आत्मविश्वास बढाउने काम गरेको छ। साथै अतिरिक्त क्रियाकलाप, नेतृत्व विकास कार्यक्रम र व्यक्तित्व विकास तालिमले विद्यार्थीलाई समग्र रूपमा सक्षम बनाएको छ।


























