Breaking News
मुलुक जलाउनेलाई भोट दिने कि बनाउनेलाई दिने अहिले परीक्षा आएको छः कांग्रेस उपसभापति भुषाल
चितवनमा कांग्रेसको औपचारिक चुनावी प्रचारप्रसार सुरु

चितवन, फागुन ४–
नेपाली कांग्रेस चितवनले आज (सोमबार)देखि औपचारिक रुपमा चुनावी प्रचार प्रसार सुरु गरेको छ ।
कांग्रेस केन्द्रीय उपसभापति पुष्पा भुषालले चितवन क्षेत्र नं.२ को सम्पर्क कार्यालय उद्घाटन र कांग्रेस चितवनको प्रतिवद्धता पत्र सार्वजनिक गर्दै चुनावी प्रचार प्रसार सुरु गरेकी हुन् । सो क्रममा उपसभापति भुषालले फागुन २१ को निर्वाचनको मतदान यो मुलुकलाई जलाएर रमाउने पार्टीलाई दिने कि यो मुलुकलाई बनाउन अगाडि बढ्ने पार्टीलाई दिने त्यसको परीक्षा आएको बताइन् । नेपाली कांग्रेसको नेतृत्व अब युवा नेतामा पुगि सकेको भन्दै परिवर्तनलाई स्वीकार गरेको सक्षम, योग्य, देशविदेशले विश्वास गरेको युवालाई अब देशको नेतृत्व दिनुपर्ने बेला आएको बताइन् । उनले भनिन्–‘फेरि यो मुलुकमा सिंहदरबार जल्न नपरोस्, न्याय दिने न्यायपालिका जल्न नपरोस्, यो शासन प्रणाली नेपाली कांग्रेसले दिनेछ ।’ उनले थपे–‘हैन भने फेरि हाम्रो नयाँ पुस्तालाई अन्याय हुनेछ ।’

उपसभापति भुषालले यो निर्वाचन वर्तमान र भविष्य बनाउनका लागि भएको भन्दै इतिहास बनाउनका लागि नभएको बताइन् । उनले चितवन क्षेत्र नं.२ मा सांसद बन्नका लागि निर्वाचन आयोग, अदालतलाई सोध्न नपर्ने उम्मेदवार कांग्रेसले खडा गरेको भन्दै समाजका लागि काम गरेकी महिला नेतृ मिना खरेललाई जिताउन अपिल गरिन् । उनले सांसद विहीन हुँदा चितवन २ मा विकास निर्माणका काम अघि बढ्न नसकेको भन्दै अब जनताले मतदानमा ध्यान दिनुपर्ने बताइन् ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य जितनारायण श्रेष्ठले चितवन क्षेत्र नं.२ प्रयोगशाला बनाउन नहुने भन्दै जनताको दुख सुखमा साथ दिने नेतालाई जिताउन आवश्यक रहेको बताए । उनले यो निर्वाचन फेरि उपनिर्वाचन गर्न लागि हुन नहुने भन्दै उपनिर्वाचन गर्ने दिन नआओस् भन्ने जनतालाई बुझाउन आवश्यक रहेको बताए ।
चितवन २ की उम्मेदवार मीना खरेलले संसद कानुन निर्माण गर्ने मुल थलो भए पनि निर्वाचन क्षेत्रको विकास निर्माणको पनि सारथी रहेको बताइन् । उनले विगतमा यस क्षेत्रमा विकास निर्माणका लागि बजेट आउन नसकेको भन्दै आफू दिनदिनुको पक्षमा कानुन निर्माणसंगै विकास निर्माणमा पनि हातेमालो गर्ने दावी गरिन् ।
कार्यक्रम कांग्रेस क्षेत्र नं.२ का सभापति भरतप्रसाद लामिछानेको अध्यक्षतामा सम्पन्न भएको थियो ।




























