क्रिकेट

उपाधिका लागि अर्किड र नारायणी नमुना मावि भिड्ने

Banner

चितवन, फागुन १–
भरतपुर मेयर्स कप अन्तरविद्यालय टी–२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि अर्किड सेकेण्डरी स्कुल र नारायणी नमुना मावि भिड्ने भएका छन् । उपाधि भिडन्त शनिबार दिउँसो गौतमबुद्ध क्रिकेट रंगशालाको नमुना मैदानमा हुनेछ ।

आज (शुक्रबार) भएका सेमीफाइनल खेलहरुमा अर्किडले वाल्मीकि शिक्षा सदनलाई पराजित गर्दै उपाधि भिडन्त पक्का गरेको हो भने नारायणी नमुना माविले भरतपुर माविलाई ७ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।

वाल्मीकिले दिएको ११५ रनको लक्ष्य पछ्याएको अर्किडले १६.३ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । अर्किडको जितमा गौरव न्यौपानेले अविजित ४८ रन बनाए । गौरवले ४० बलमा २ छक्का र ४ चौका प्रहार गरे । आभाष पौडेलले १९, साहिल उस्मानीले १३ रन बनाए ।

वाल्मीकिका लागि जेसीस प्रधान, अमृत आचार्य, विवश अधिकारी र देवेन्द्र भण्डारीले समान एक–एक विकेट लिए ।
टस हारेर पहिले ब्याटिङ गरेको वाल्मीकिले अमृत आचार्यको ५४ रनको अर्धशतकीय पारीमा निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ११४ रन बनाएको थियो । अमृतले ३५ बलमा ६ छक्का र ३ चौका प्रहार गरे । राहुल यादवले १८ रन बनाए । अन्य ब्याटरले दोहोरो अंक छुन सकेनन् । वाल्मीकिको पारी अमृत एक्लैले सम्हालेका थिए ।
अर्किडका लागि कप्तान मन्दिप बरालले ३, सन्देश सुवेदीले एक विकेट लिएका थिए । खेलमा अर्किडका गौरव न्यौपाने प्लेयर अफ द म्याच घोषित भए ।

शुक्रबार नै भएको अर्को सेमीफाइनलमा नारायणी नमुना माविले चितवन माध्यमिक विद्यालयलाई ७ रनले पराजित गर्दै फाइनल भिडन्त पक्का ग¥यो । नारायणी नमुनाले दिएको ९७ रनको लक्ष्य पछ्याएको चितवन मावि १९.५ ओभरमा ८९ रनमा अलआउट भयो । चितवन माविका लागि अभिनन्दन यादवले २४ र पवन महतोले १५ रन बनाए । नारायणी नमुनाका लागि शेख रेयाजुदिनले २ ओभरमा २४ रन खर्चिदै ३ विकेट लिए । मिसभत अलीले २, गुञ्जन कुमार यादव र सुनिल प्रसाद गुप्ताले समान एक–एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नारायणी नमुना मावि ८ विकेटको क्षतिमा ९६ रन बनाएको थियो । उसका लागि युवराज कुमार शाहले ३०, बिकि शाहले १३, विकेश कुमार पटेलले ११ रन बनाए भने अन्य ब्याटरले दोहोरो अंक छुन सकेनन् ।
चितवन माविका लागि राजिव यादव र अभिनन्दन यादवले समान ३–३ विकेट लिए भने वेदप्रकाश शाह र जीवन पटेलले एक–एक विकेट लिए । खेलमा नारायणी नमुना माविका शेख रेयाजुदिन प्लेयर अफ द म्याच घोषित भए ।

भरतपुर महानगरपालिकाको आयोजना र चितवन जिल्ला क्रिकेट संघको संयोजनमा भइरहेको प्रतियोगितामा भरतपुर महानगर भित्रका संस्थागत र सामुदायिक गरी ४८ विद्यालयको सहभागिता रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>