चितवन विशेष

तीन वर्षपछि नारायणगढमा गुञ्जियो नेपथ्य ब्यान्ड

Banner

चितवन, माघ २८-

साँझ ढल्कदै थियो । मंगलबार भरतपुरको क्याम्पाचौर खचाखच बन्यो । बेलुका ६ः३५ मा नेपथ्य ब्यान्डका मुख्य गायक अमृत गुरुङ स्टेजमा उक्लिए । जब त्यहाँको माहोल बेग्लै बन्यो । गुरुङले आफ्नो प्रस्तुती नेपथ्य ब्यान्डको पहिलो गीत ‘आँगनैभरि हिउँ नै झरे, आरुफूल है टिपी राखे है’बाट दिए । त्यतिखेर दर्शकको हुटिङले चिसो मौसमको प्रवाह रहेन ।

त्यसलगत्तै अमृतले ‘यो रमाइलो गाउँमा’ गीत गाए । त्यसपछि ‘लाऊ कि नलाऊ जुग जाने पिरती’ बोलको गीत गाएका गुरुङले त्यहाँको माहोल झन् तताए । कन्सर्टमा अधिकांश युवा युवती पुगेका थिए । उनीहरुलाई गुरुङले ‘उडायो रेलैले’ बोलको गीत गाएर छमछमी नचाए । त्यस गीत लगत्तै गुरुङ त्यतिमा रोकिएनन् ‘जोमसोमै बजारमा १२ बजे हावा सररर’ गीत गाए ।

यी गीतले गण्डकी प्रदेशको भौगोलिक वातावरण समेटेको थियो । बिचबिचमा गुरुङले दिने नेपालको पर्यटकीय गन्तव्यको सन्देशले त्यहाँको वातावरण झन सुमधुर बनाएको हुन्थ्यो । नेपालको पर्यटकीय गन्तव्यको बारेमा जानकारी दिँदै उनले ‘शिर फूल शिरैमा’ गीत गाए । लोक भाकाका गीतलाई त्यसको मेलोडी नमारी पप शैलीमा गाउने विशेषता रहेका गुरुङले ‘नैना ताल घुमी आयो रेल’ बोलको गीतले दर्शकलाई स्टेज तर्फ आक्रर्षित गरेको थियो ।

गण्डकी प्रदेशको सेरोफेरोलाई समेटेर गीत गाएका गुरुङले कर्णालीसम्मका चर्चित गीत गाउन पुगेँ । उनले त्यहाँको अवस्था बुझ्नका लागि गीत मार्फत नै कर्णाली पुग्न अनुरोध गरेँ । कर्णालीको सिँजा उपत्यकाको बारेमा वर्णन गरेका उनले देउडा भाकाको ‘लेखै ल्याउन’ गीत प्रस्तुत गरेँ ।

त्यसलगत्तै उनले ‘जीवन हो घाम छायाँ’ गीत गाउँदा दर्शकमा झन् उत्साह देखिन्थ्यो । बिच बिचमा मादल र गीतारको धुनले गुरुङलाई साथ दिइरहेको थियो । मादलको धुनपछि गुरुङले राष्ट्रियता प्रति सर्मपित ‘गाउँ गाउँबाट उठ बस्ती बस्तीबाट उठ’ गीत गाए । अहिलेको विषम परिस्थितीमा यस गीतले दर्शक माझ देश प्रतिको मायाँ सम्झाइरहेको थियो । उनले गीत गाउँदै नेपाललाई कसैले कु दृष्टिले नहेर्न समेत चेतावनी दिएका थिए । त्यस लगत्तै ‘जोगले हुन्छ भेट मायाँले हुन्छ सम्झना’, ‘सालको पानी माछिले खानी’, ‘रेशम फिलिली’ र उनले अन्तिम प्रस्तुतीको रुपमा ‘रातो चन्द्र सूर्य निशान हाम्रो’ बोलको गीत गाएका थिए । करिब दुई घण्टासम्म आफ्नो प्रस्तुती दिएका गुरुङले १३ वटा गीत प्रस्तुत गरेका थिए । प्रस्तुतिको सुरूदेखि अन्तिमसम्मै दर्शकले तालमा ताल मिलाउँदै अमृतलाई उत्साहपूर्वक साथ दिए ।

लोक भाकाका गीतलाई त्यसको मेलोडी नमारी युवा पुस्ताले रूचाउने किसिमका पप शैलीमा गाउनु यो समुहको विशेषता हो । गुरूङले गीत मात्र पस्केनन्, आसन्न निर्वाचनमा सहभागिताका लागि अपिल समेत गरे । ‘देशले राम्रो मान्छे खोजेको छ । आउँदो चुनावमा हाम्रो होइन राम्रो मान्छेलाई जिताउनका लागि गाउँ गाउँबाट सहर जानुहोला,’ उनले मतदातालाई अपिल गर्दै भने ‘निर्वाचनमा जान कोही पनि नछुटाउनुहोला।’

मंगलबारको कन्सर्टमा अमृतलाई सदाझैं ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुबिन शाक्य, गितारमा नीरज घलान, मादलमा शान्ति रायमाझी र किबोर्डमा हिमेशराज रेग्मीले सघाएका थिए । नारायणगढको प्रस्तुती पछि नेपथ्यको टोली रमणीय पर्वतीय नगरी बन्दीपुरतर्फ प्रस्थान गरेको छ । त्यहाँस्थित टुँडिखेलमा फागुन २ अर्थात् ‘भ्यालेन्टाइन्स डे’ को साँझ नेपथ्य गुञ्जनेछ । नेपथ्य चितवनमा तीन वर्षपछि गुञ्जिएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>