चितवन विशेष
सेन्ट्रल मोडल कलेजद्वारा प्लस टु विद्यार्थी लक्षित आईटी इनोभेसन तथा करिअर मार्गदर्शन कार्यक्रम आयोजना

भरतपुर,माघ ११-
सेन्ट्रल मोडल कलेज, भरतपुर–२, चितवनले प्लस टु विज्ञान, व्यवस्थापन तथा आईटी संकायमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गर्दै “आईटी इनोभेसन एण्ड करिअर गाइड्यान्स प्रोग्राम” आयोजना गर्ने भएको छ। कलेजका अनुसार उक्त कार्यक्रम २०२६ जनवरी २६ (वि.सं. २०८२ माघ १२ गते) बिहान ७ः०० बजेदेखि १०ः०० बजेसम्म सेन्ट्रल मोडल कलेजकै प्राङ्गणमा सञ्चालन हुनेछ। कार्यक्रमको मुख्य उद्देश्य प्लस टु पछि विद्यार्थीहरूले रोज्न सक्ने करिअर मार्ग, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवसर, उदाउँदै गरेका प्रविधि तथा भविष्य उन्मुख सीपहरूबारे स्पष्ट मार्गदर्शन प्रदान गर्नु रहेको छ।
कार्यक्रममा आईटी, विज्ञान तथा व्यवस्थापन क्षेत्रका करिअर सम्भावना, उच्च शिक्षा र ग्लोबल अवसर, नवप्रवर्तन, स्टार्ट–अप, अन्तरिक्ष प्रविधि, नेतृत्व विकास, निर्णय क्षमता तथा प्रेरणामूलक विषयहरूमा अन्तरक्रियात्मक सत्रहरू सञ्चालन गरिने कलेजले जनाएको छ।
कार्यक्रममा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त दुई विशिष्ट वक्ताहरूको सहभागिता रहनेछ। पूर्व नासा (नासा युएसए) इन्जिनियर तथा अन्तर्राष्ट्रिय मोटिभेसनल स्पिकर गेब ग्याब्रिएलले नवप्रवर्तन, प्रविधि र विश्वव्यापी करिअर विकासका विषयमा आफ्ना अनुभव आदानप्रदान गर्नुहुनेछ। त्यसैगरी, स्पेस डेभलपमेन्ट नेक्सस (एसडिएनएस) भारतका संस्थापक तथा निर्देशक सञ्जय राठीले अन्तरिक्ष प्रविधि, नवप्रवर्तन, स्टार्ट–अप तथा उद्यमशीलताका अवसरबारे जानकारी प्रदान गर्नुहुनेछ।
सेन्ट्रल मोडल कलेजका प्रिन्सिपल डा. टी.आर. चालिसेले उक्त कार्यक्रम पूर्ण रूपमा निःशुल्क हुने जानकारी गराउँदै दर्ताको अन्तिम मिति २०८२ माघ ११ गते तोकिएको बताउनुभयो। उहाँका अनुसार चितवन र नवलपरासी जिल्लाका सबै प्लस टु कलेजहरूलाई औपचारिक निमन्त्रणा पत्र पठाइसकिएको छ। कुनै कारणवश निमन्त्रणा पत्र नपुगेको खण्डमा यसै जानकारीलाई आधार मानी कार्यक्रममा सहभागिताका लागि विद्यार्थीहरूलाई पठाउन कलेजले अनुरोध गरेको छ।
कार्यक्रममा सहभागी हुन इच्छुक प्रत्येक विद्यालयले चार जना विद्यार्थी मात्र नामांकन गर्न सक्नेछन्। सहभागी विद्यार्थीहरूले विद्यालयको परिचयपत्र अनिवार्य रूपमा साथमा ल्याउनुपर्ने कलेजले जनाएको छ।
कलेज प्रशासनले यस कार्यक्रमले विद्यार्थीहरूको शैक्षिक दिशा निर्धारण, करिअर छनोट तथा भविष्यप्रतिको आत्मविश्वास अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ। थप जानकारीका लागि ९८५५०५२५०५ मा सम्पर्क गर्न वा [email protected] मा इमेल गर्न सकिनेछ ।
























