चितवन विशेष

करिब २० करोडको कारोबार गर्दै गैँडाकोट महोत्सव सम्पन्न

Banner

नवलपुर (नवलपरासी), माघ १०

नवलपरासी (बर्दघाट(सुस्तापूर्व) नवलपुरको गैँडाकोट नगरपालिका-२ स्थित नारायणी नदी किनारमा सञ्चालन भएको चौथो गैँडाकोट महोत्सव आज सम्पन्न भएको छ । करिब दुई लाख दर्शकले महोत्सव अवलोकन गर्दा रु २० करोड बढीको कारोबार भएको आयोजक संस्था जिल्ला उद्योग वाणिज्य सङ्घ गैँडाकोटले जनाएको छ ।

जिल्ला उद्योग वाणिज्य सङ्घ गैँडाकोटका महासचिव एवं महोत्सव सचिवालय संयोजक तेजनारायण पाण्डेले आर्थिक मन्दिका कारण महोत्सवमा अपेक्षित कारोबार नभए पनि सफलतापूर्व सम्पन्न भएको दाबी गर्नुभयो । “हामीले रु २५ करोडको कारोबार हुने अनुमान गरेका थियौँ”, उहाँले भन्नुभयो, “आर्थिक मन्दिका कारण करिब रु २० करोडको कारोबार भएको प्रारम्भिक तथ्याङ्क निकालेका छौँ ।” गैँडाकोटमा आयोजना भएको यस महोत्सवले जिल्लाको आर्थिक क्षेत्रलाई चलायमान बनाउन सहयोग गरेको पाण्डेले विश्वास व्यक्त गर्नुभयो ।

गत पुस २५ देखि सुरु भएको महोत्सव आज १६औँ दिनमा समापन गरिएको हो । महोत्सवले जिल्लामा उत्पादन भएका कृषि तथा औद्योगिक उत्पादनको प्रवर्द्धन र बजारीकरणमा सघाएको सङ्घका वरिष्ठ उपाध्यक्ष एवं महोत्सव मूल संयोजक छवि कँडेलले जानकारी दिनुभयो ।

“नवलपुर गण्डकी प्रदेशको कान्छो जिल्ला भए पनि कृषि तथा उद्योगको क्षेत्रमा अग्रणी रहेको छ”, कँडेलले भन्नुभयो, “यस महोत्सवले यहाँको कृषि उपजलाई प्रवर्द्धन गर्न सघाउँदै किसान र उद्यमीको हौसला वृद्धि गरेको छ । साथै पर्यटन प्रवर्द्धनमा पनिसुहयोग पुगेको विश्वास लिएका छौँ ।”

महोत्सवका क्रममा कृषि उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले किसानले उत्पादन गरेका बन्दा, गाँजर, मूला, काउली, ब्रोकाउली, भेँडे खुर्सानीसहितका कृषि उपजको निःशुल्क प्रदर्शन गरिएको सङ्घका अध्यक्ष एवं महोत्सवका संरक्षक दीपक सापकोटाले बताउनुभयो । महोत्सवमा औद्योगिक उत्पादनसँगै अटो, रेष्टुरेन्ट, घरायसी र उपभोग्य वस्तुगरी २५० स्टल (कक्ष) तथा बाल उद्यान र जलपरी सो राखिएको उहाँको भनाइ छ ।

महोत्सवमा स्थानीय अदुवाको जामको प्रचारप्रसार र प्रवर्द्धन गर्नेगरी प्रदर्शनीमा राखिएको भन्दै सापकोटाले यसले नवलपुरको उत्पादनलाई पहिचान बनाउन मद्दत पुगेको विश्वास व्यक्त गर्नुभयो । महोत्सव उद्घाटनका दिन आयोजित शोभायात्रामा सहभागीमध्ये उत्कृष्ट १७ समूहलाई समापनका क्रममा आज पुरस्कृत गरिएको महोत्सवका प्रचारप्रसार उपसमिति संयोजक शालिकराम सापकोटाले जानकारी दिनुभयो ।

उहाँका अनुसार विभिन्न धार्मिक, शैक्षिक, सामाजिक सङ्घ संस्था तथा खेलकुद, सामुदायिक वनलगायत पालिकामा क्रियाशील ३५० भन्दा बढी समूहको सहभागिता रहेको शोभायात्रामा सहभागीमध्ये १४ जनालाई सान्त्वना पुरस्कार तथा तीन समूहलाई पहिलो, दोस्रो र तेस्रो गरी पुरस्कृत गरिएको छ ।

महोत्सव अवधिभर सांस्कृतिक कार्यक्रमअन्तर्गत स्थानीय कला र संस्कृतिको जगेर्ना र प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय भजन प्रतियोगिता आयोजना गरिएको थियो । महोत्सव समापनका क्रममा गैँडाकोट नगरपालिकाका प्रमुख मदनभक्त अधिकारीले महोत्सवले गैँडाकोटको मात्रै नभई समग्र जिल्लाको धार्मिक, पर्यटकीय गतिविधि बढाएको बताउनुभयो ।

स्थानीयस्तरमा हुने महोत्सवले स्थानीय उत्पादनको बजारीकरण गर्दै रोजगारी र उत्पादन वृद्धिमा सघाउ पु¥याउने उहाँले विश्वास व्यक्त गर्नुभयो । महोत्सवमा हरेक दिन ख्याति प्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारहरूद्वारा साङ्गीतिक प्रस्तुति प्रस्तुत गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>