Breaking News

उमेदवारको नाम फिर्ता, अन्तिम नामावली प्रकाशन र निर्वाचन चिह्न आज प्रदान गरिँदै

Banner

काठमाडौं,माघ ९-

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उमेदवारी दिएका उमेदवारले चाहेको खण्डमा आज उमेदवारी फिर्ता लिन सक्नेछन् । दिउँसो १ बजेसम्म नाम फिर्ता लिनसक्ने निर्वाचन आयोगको कार्यतालिका छ । आज दिउँसो १ देखि ३ बजेसम्ममा उमेदवारको अन्तिम नामावली प्रकाशन हुँदै छ ।

आजै अपराह्न ४ देखि साँझ ७ बजेसम्म उमेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ । देशभरका १६५ निर्वाचन क्षेत्रमा तीन हजार ४८६ उमेदवारी दर्ता भएको छ । माघ ६ गते देशभर एकैपटक मनोनयनपत्र दर्ता सम्पन्न भएको थियो । कुल उमेदवारीमध्ये तीन हजार ८९ पुरुष, ३९६ महिला तथा अन्य एक जना रहेका छन् ।

प्रतिनिधिसभाको निर्वाचन आगामी फागुन २१ गते हुँदै छ । कुल २७५ सदस्यीय प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीमार्फत ११० जना र प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत १६५ सदस्य निर्वाचित संवैधानिक व्यवस्था छ ।

कसरी दिइन्छ निर्वाचन चिह्न ?

निर्वाचन आयोगका अनुसार उमेदवारको अन्तिम नामावलीमा एउटा निर्वाचन क्षेत्रमा एकभन्दा बढी संख्यामा उमेदवार कायम भएमा निर्वाचन अधिकृतले प्रत्येक उमेदवारलाई निर्वाचन चिह्न प्रदान गर्नुपर्छ । निर्वाचनका लागि दललाई अनुसूची–३० बमोजिम र स्वतन्त्र उमेदवारलाई अनुसूची–३१ बमोजिम निर्वाचन चिह्न गरिन्छ ।

निर्वाचन अधिकृतले दलको उमेदवारलाई निर्वाचन चिह्न प्रदान गर्दा त्यस्तो दलको लागि निर्धारण गरिएको चिह्न प्रदान गर्नुपर्छ । आयोगले कुनै उमेदवारलाई निर्वाचन चिह्न प्रदान गरी सकेपछि त्यस्तो उमेदवारले आफ्नो दल त्याग गरेमा वा अर्को दलमा प्रवेश गरेमा उसलाई प्रदान गरिएको निर्वाचन चिह्न परिवर्तन हुँदैन । त्यस्तो उमेदवार निर्वाचित भएमा सम्बन्धित दलले प्रमाणसहित आयोगमा उजुरी दिएमा उसको सदस्यता खारेज हुने आयोगले प्रष्ट पारेको छ । निर्वाचन अधिकृतले स्वतन्त्र उमेदवारलाई निर्वाचन चिह्न प्रदान गर्दा स्वतन्त्र उमेदवारले प्रयोग गर्ने गरी निर्धारण गरेका निर्वाचन चिह्नको समूहबाट प्रदान गर्नुपर्छ ।

“स्वतन्त्र उमेदवारलाई निर्वाचन चिह्न प्रदान गर्दा निर्वाचन अधिकृतले त्यस्तो उमेदवार वा उसको प्रतिनिधिलाई निर्वाचन चिह्न रोज्न लगाई उनीहरूको रोहबरमा निर्वाचन चिह्न प्रदान गर्नुपर्छ,” आयोगले भनेको छ, “तर, निर्वाचन चिह्न प्रदान गर्दा कुनै उमेदवार वा उसको प्रतिनिधि उपस्थित नभएमा उपस्थित उमेदवार वा उसको प्रतिनिधिले रोजेर बाँकी रहेको निर्वाचन चिह्नबाट निर्वाचन अधिकृतले निर्वाचन चिह्न प्रदान गर्छन् ।”

स्वतन्त्र उमेदवारलाई निर्वाचन चिह्न रोज्न लगाउँदा एकभन्दा बढी उमेदवारले एउटै निर्वाचन चिह्न रोजेमा त्यस्तो उमेदवारको नामको नेपाली वर्णानुक्रमको आधारमा प्राथमिकता दिई आयोगले निर्वाचन चिह्न प्रदान गर्छ । कुनै दलले निर्वाचनमा उमेदवार मनोनीत नगरेको अवस्थामा समेत सो दललाई प्रदान गरिएको निर्वाचन चिह्न अन्य उमेदवारलाई प्रदान नगरिने आयोगले प्रष्ट पारेको छ ।

उमेदवारलाई निर्वाचन चिह्न प्रदान गरिसकेपछि निर्वाचन अधिकृतले एकीकृत निर्वाचन व्यवस्थापन सूचना प्रणालीमा प्रविष्ट गर्ने र त्यसमा कुनै फेरबदल नहुने आयोगले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>