Breaking News
चितवनमा ६५ जनाले गराए उम्मेदवारी दर्ता, सबैभन्दा धेरै क्षेत्र नं.२ र ३ मा

चितवन, माघ ६–
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन अन्तरगत (आज) मंगलबार चितवनमा शान्तपूर्ण रुपमा मनोनयन दर्ता गरिएको छ । विहान १० बजेदेखि नै चितवनका तीन वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता सुरु भएको थियो । तीन वटै निर्वाचन क्षेत्रमा गरी कुल ६५ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
चितवन क्षेत्र नं.१ का सहायक निर्वाचन अधिकृत अमृत विश्वकर्माका अनुसार ४ जना स्वतन्त्रसहित १९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट यसअघि निर्वाचित हरि ढकालले उम्मेदवारी दिएका छन् । नेपाली कांग्रेसबाट पुराना नेता राजेन्द्र बुर्लाकोटी, नेकपा (एमाले)बाट बागमती प्रदेशका पूर्व मन्त्री दावा दोर्जे लामाले उम्मेदवारी दिएका छन् । यस्तै नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट कृष्ण पन्त, हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीबाट अनिश तामाङले उम्मेदवारी दिएका छन् । कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीबाट धनबहादुर गुरुङले उम्मेदवारी दिए भने नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा (माओवादी)बाट गणेश बहादुर श्रेष्ठले उम्मेदवारी दिएका छन् ।
त्यसैगरि क्षेत्र नं.२ का सहायक निर्वाचन अधिकृत देवी भण्डारीका अनुसार ६ जना स्वतन्त्रसहित २३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वारेस नामा मार्फत उम्मेदवारी दर्ता गराएको भण्डारीले जानकारी दिए । लामिछानेले सहकारी ठगी मुद्दाका लागि वीरगञ्जमा भएपछि उनले भरतपुर महानगर सभापति सीता ज्ञवालीलाई वारेसानामा दिएर उम्मेदवारी दर्ता गराएका छन् । नेपाली कांग्रेसबाट अधिकारकर्मी मीना खरेलले उम्मेदवारी दिइन् भने नेकपा (एमाले)बा युवा नेता अश्विन घिमिरेले उम्मेदवारी दर्ता गराएका छन् । राप्रपाबाट जगदीश्वर अधिकारीले उम्मेदवारी दिए भने नेकपा (माओवादी)बाट दर्शना कुमारी शाहीले उम्मेदवारी दिए ।
त्यसैगरी क्षेत्र नं.३ का सहायक निर्वाचन अधिकृत सुरत प्रसाद तिमल्सेनाका अनुसार ६ जना स्वतन्त्रसहित २३ जनाले उम्मेदवारी दिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट नेतृ सोबिता गौतमले उम्मेदवारी दर्ता गराइन् भने नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट भरतपुर महानगरपालिकाकी निवर्तमान मेयर रेनु दाहालले उम्मेदवारी दर्ता गराइन् । त्यस्तै नेपाली कांग्रेसबाट पूर्व जिल्ला सभापति टेकप्रसाद गुरुङ र नेकपा (एमाले)बाट भरतपुुर महानगर कमिटी अध्यक्ष शंकर थपलियाले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा (माओवादी)बाट आशिक महतोले उम्मेदवारी दिएका छन् भने कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीबाट डम्बर बहादुर तामाङले उम्मेदवारी दिएका छन् । यस्तै हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीबाट तोजमान गुरुङले उम्मेदवारी दिएका छन् ।


























