Breaking News

चितवनमा मनोनयन दर्ताको तयारी पुरा, कुन दलले कति बेला उम्मेदवारी दिने

Banner

चितवन, माघ ५-

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयनपत्र दर्ताको लागि चितवनमा तयारी पूरा भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले चितवनका तीन वटा निर्वाचन क्षेत्रमा नै तयारी पुरा भएको जानकारी दिएको हो ।

मुख्य निर्वाचन अधिकृत केदारनाथ पौडेलले फरक फरक दललाई समय तोकेर मनोनयन दर्ता गराउन समेत आह्वान गरिएको जानकारी दिए । चितवन निर्वाचन क्षेत्रनम्बर १ को कार्यालय खैरहनी नगरपालिका स्थित भूमिगत जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय खैरहनी, चितवन निर्वाचन क्षेत्र नम्बर २को उद्योग तथा वाणिज्य कार्यालय र चितवन निर्वाचन क्षेत्र नम्बर ३को रामपुर स्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयमा कार्यालय स्थापना गरिएको छ । त्यहाँ सबै पार्टीलाई मनोनयन दर्ताका लागि समय तोकिएको उनले जानकारी दिए ।

नेपाली कांग्रेस चितवनले भोली दिउँसो ३ बजे तीन वटै क्षेत्रमा उम्मेदवारी दर्ता गर्नेछ । नेपाली कांग्रेसले चितवनको क्षेत्र नम्बर १मा क्षेत्रीय पार्टी कार्यालय पर्सा बजारबाट भेला भएर उम्मेद्वारी दर्ता गराउन जाने तयारी छ भने क्षेत्र नम्बर २मा भरतपुर १० स्थित गेष्टहाउस चौरबाट र क्षेत्र नम्बर ३मा भरतपुर १५ मंगलपुर बजारबाट भेला भई उम्मेदवारी दर्ता गराउन जाने तयारी भएको कांग्रेस चितवनले जानकारी दिएको छ ।

त्यसैगरी नेकपा एमालेले मध्यान्ह १२ बजे दर्ता गर्नेछ । नेकपा (एमाले)ले क्षेत्र नम्बर १मा खैरहनी स्थित मगनी चोकमा भेला भई उम्मेदवारी दर्ता गर्न जाने तयारी छ भने क्षेत्र नम्बर २मा जिल्ला पार्टी कार्यालय कृष्णपुर र क्षेत्र नम्बर ३मा मंगलपुर बजारबाट भेला भई मनोनयन दर्ता गर्न जाने जनाएको छ ।

नेकपाले १ बजे, रास्वपाले २ बजे, राप्रपाले साढे २ बजे राष्टिय जनमोर्चाले १२ बजे उम्मेदवारी दर्ता गर्ने जनाएका छन् । उम्मेदवारी दर्ताका लागि केही राजनीतिक दलले बाजागाजा सहित भव्य तयारी गरेका छन् । यस्तै अन्य दल र स्वतन्त्र उम्मेदवारले विहान १० बजेदेखि ५ बजेसम्म आफ्नो अनुकुलमा उम्मेदवारी दर्ता गर्न सक्ने निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

उम्मेदवारले प्रतिनिधि तोकी मनोनयनपत्र दर्ता गर्ने भएमा प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका, २०८२ को दफा २४ सँग सम्बन्धित अनुसूची ११ बमोजिमको प्रतिनिधि मुकरर गरेको फारम भर्नुपर्नेछ । निर्वाचन अधिकृतको कार्यालयमा रु १० हजार धरौटी जम्मा गरेको रसिद वा भौचर पनि पेस गर्नुपर्नेछ । महिला र दलित वा अल्पसङ्ख्यक समुदाय वा आर्थिक रूपले विपन्न उम्मेदवारको हकमा भने धरौटी रकममा ५० प्रतिशत छुट हुने छ । विपन्नका हकमा स्थानीय तहले आर्थिक रूपमा विपन्न भनी सिफारिस गरेको पत्र पनि समावेश गर्नुपर्नेछ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>