Breaking News
विद्युत प्राधिकरण भरतपुरका तत्कालिन प्रमुख राजिव सिंहले १३ लाख बढीको तामाको तार बेचेर खाए,अख्तियारले दायर गर्यो मुद्दा

चितवन, पुस २९-
चितवनमा दिनभर लोडसेडिङ गरेर कार्यालय भित्रै रक्सी पार्टी गर्ने विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका तत्कालिन प्रमुख राजिव कुमार सिंहले पोखरामा तामाको तार बेचेर खाएको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रको कार्यालय प्रमुख हुँदा सिंहलाई ९०० मिटर बढी तामाको तार बेचेर खाएको आरोपमा आज मुद्दा दायर गरेको हो ।
अख्तियारले आज (मंगलबार) १३ लाख ९३ हजार ६०३ रुपैयाँ बराबरको तार बेचेर सार्वजनिक सम्पती हानी नोक्सानी गरेको भन्दै विशेष अदालत काठमाण्डौँमा मुद्दा दायर गरेको अख्यितारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।
भ्रष्टाचार निवारण ऐन २०५९को दफा १७ बमोजिमको कुसुर भएको हुँदा बिगो १३ लाख ९३ हजार ६०३ रुपैयाँ ३ पैसा कामय गरी सोही ऐनको दफा १७ निर्देशन गरे बमोजिम असुल उपर माग दावि गरिएको उनले बताए । यस्तै सोही भ्रष्टाचार काण्डमा तत्कालिन साहायक लेखा अधिकृत लोकप्रसाद काफ्ले र कान्तिपुर सेक्यूरिटी सर्भिस प्रालि काठमाण्डौँका सुरक्षा गार्ड रामकुमार पुर्जा र हेम शर्मा रिमाललाई समेतलाई समेत प्रतिवादी बनाएर मुद्दा दर्ता गरिएको छ ।
नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्र अन्तरगत रहेको हेम्जा शवस्टेशनबाट सो तार बेचिएको अख्तियारले जनाएको छ । प्राधिरकणको स्टोर फाँटमा हराएको देखाएर मिलेमतोमा तार बेचिएको आरोप अख्तियारको छ । यस सम्बन्धमा छानविन समिति समेत गठन भएको थियो । छानविन प्रतिवेदनमा २०७९ फागुन २१ गते केही तार ठेकेदार मार्फत लगिएको थियो । फेरी ठेकेदारले फिर्ता गरेर ल्याएको तार पुरा परिमाणमा नभेटिएपछि छानविन भएको थियो ।
























