चितवन विशेष
‘योगी नरहरिनाथलाई राष्ट्रिय विभूति घोषणा गरिने’

काठमाडौँ, पुस २७-
वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले योगी नरहरिनाथलाई राष्ट्रिय विभूति घोषणा गर्ने गृहकार्य भइरहेको बताउनुभएको छ । पृथ्वीजयन्ती एवं राष्ट्रिय एकता दिवसका अवसरमा आज पशुपति क्षेत्रस्थित मृगस्थलीमा रहेको गोरक्षपीठको अवलोकनका क्रममा मन्त्री चौलागाईंले योगी नरहरिनाथलाई राष्ट्रिय विभूति घोषणाका लागि मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने तयारी गरिएको जानकारी दिनुभयो । गोरक्षपीठस्थित योगी नरहरिनाथको समाधिस्थलमा रहेको प्रतिमा क्षेत्रलाई आकर्षक स्थलका रुपमा विकास गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
योगी नरहरिनाथले गर्नुभएको योगदानको कदर गर्दै उहाँलाई राष्ट्रिय विभूति घोषणा गर्न लागिएको मन्त्री चौलागाईंले बताउनुभयो । गोरक्षपीठ क्षेत्रको बृहत्तर विकास हुनुपर्ने उल्लेख गर्दै उहाँले योगी नरहरिनाथले लेख्नुभएका पुस्तकलाई व्यवस्थित गरी पुनःप्रकाशनका लागि सहयोग जुटाउनुपर्ने बताउनुभयो । सो अवसरमा त्यस क्षेत्रका सम्पदाको अवस्थाबारेमा पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रकाशमणि शर्मा र कोषाध्यक्ष श्रीधर सापकोटाले मन्त्री चौलागाईंलाई जानकारी गराउनुभएको थियो ।रासस
























