Breaking News
चितवनमा प्रतिनिधिसभा निर्वाचनको तयारी तिव्र, माघ २ गते कार्यालय स्थापना गरिदै

चितवन, पुस २३–
आसन्न फागुन २१ गते हुने निर्वाचनको मिति नजिकदै गर्दा जिल्ला निर्वाचन कार्यालय चितवनले तयारी तिव्र पारेको छ ।
माघ २ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्नुपर्ने भएकाले अहिले त्यसैको तयारी भइरहेको कार्यालयले जनाएको छ । यसपटक चितवन क्षेत्र नं.२ का लागि फरक ठाउँमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिदै छ । भरतपुर–१०, स्थित बाइपास रोडमा रहेको उद्योग तथा वाणिज्य कार्यालयको पुरानो भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने जिल्ला निर्वाचन कार्यालय चितवनका सूचना अधिकारी नेत्रराज श्रेष्ठले जानकारी दिए । ‘अहिले निर्वाचनको तयारी अघि बढाइ रहेका छौं, सुरुमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्नुपर्ने भएकाले त्यसैमा फोकस छौं’–सूचना अधिकारी श्रेष्ठले भने ।
क्षेत्र नं.१ का लागि भूमिगत जलस्रोत तथा सिचाई विकास डिभिजन कार्यालय खैरहनीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने छ भने क्षेत्र नं.३ का लागि रामपुरस्थित सिँचाई कार्यालयमा स्थापना गरिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
निर्वाचन आयोगले क्षेत्र नं.२ का लागि मुख्य निर्वाचन अधिकृतमा चितवन जिल्ला अदालतका न्यायाधिश केदारनाथ पौडेललाई नियुक्त गरेको छ भने क्षेत्र नं.१ मा सर्वोच्च अदालतका विकास कुमार रजक र क्षेत्र नं.३ मा वन तथा वातावरण मन्त्रालयका उपसचिव बालकृष्ण निरौलालाई नियुक्त गरिसकेको छ ।
चितवनमा यसपटक कुल मतदाता ४ लाख ४२ हजार ८२ जना रहेका छन् । जेनजी बिद्रोहपछि २० हजार ६९० जना मतदाता थपिएको निर्वाचन कार्यालयका सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।
यस्तो छ निर्वाचन कार्यतालिका
माघ २ गते कार्यालय स्थापना भएसंगै औपचारिक रुपमा सोही कार्यालयबाट निर्वाचनको काम अघि बढ्ने छ । निर्वाचन आयोगका अनुसार माघ ६ गते प्रतिनिधिसभा निर्वाचनको मनोनयन दर्ताको कार्यतालिका रहेको छ ।
माघ ६ गते विहान १० बजेदेखि अपरान्ह ५ बजेसम्ममा उम्मेदवारहरुको मनोनयनपत्र दर्ता हुनेछ भने सोही दिन बेलुकी ५ देखि ७ बजे भित्रमा उम्मेदवारहरुको सूची प्रकाशन गर्ने तालिका छन् ।
माघ ७ गते विहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म उम्मेदवारहरु उपर दाबी विरोध गर्ने समय दिईएको छ भने माघ ८ गते अपरान्ह ५ देखि ७ बजेसम्ममा उम्मेदवार मनोनयन पत्र र उजुरी उपर जाँचबुझ एवं निर्णय गरी नामावली प्रकाशन गर्ने तालिका छ ।
माघ ९ गते विहान १० बजेदेखि दिउँसो १ बजेसम्ममा उम्मेदवारको नामावली फिर्ता लिन सकिने र सोही दिन दिउँसो ३ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने आयोगले जनाएको छ ।
























