चितवन विशेष

चितवन मेडिकल कलेजमा मुटुरोगसम्बन्धी गोष्ठी

Banner

चितवन, पुस १९-

चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालमा पहिलोपटक आज मुटुरोगसम्बन्धी गोष्ठी (कार्डियोलोजी कन्फ्रेन्स) आयोजना गरिएको छ । मुटुरोग उपचार क्षेत्रका विविध विषयमा छलफल र अनुभव आदनप्रदान गर्न एक दिने गोष्ठी आयोजना गरिएको हो ।

मुटुरोग उपचार क्षेत्रका विभिन्न पक्षका बारेमा विज्ञ चिकित्सकले चार वटा सत्रमा छलफल गरेका छन् । मुटुरोग उपचार क्षेत्रमा विशिष्ट पहिचान बनाएका चिकित्सक डा भगवान् कोइरालाले गोष्ठीको उद्घाटन गर्नुभएको हो ।

डा कोइरालाले पछिल्लो तीन दशकमा नेपालमा मुटुरोगको उपचार क्षेत्रमा प्रभावकारी र गुणस्तरी सेवा उपलब्ध हुँदै गएको बताउँदै राजधानी बाहिर पनि सेवा र उपचारमा गुणस्तर बढ्दै गएको उल्लेख गर्नुभयो । उहाँले सिएमसीले मुटुरोग उपचारमा गरेको योगदानको प्रशंसा गर्नुभयो । आफूसँग काम गरेका दक्ष चिकित्सकले यहाँ सेवा दिइरहेका भन्दै उहाँले खुसी व्यक्त गर्नुभयो ।

कार्यक्रमको उद्घाटन सत्रमा सिएमसीका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्राडा हरिशचन्द्र न्यौपानेले सिएससी शिक्षण अस्पतालले उच्च प्राथमिकता दिएर मुटुरोगको उपचार गरिरहेको बताउनुभयो । आफ्नो प्रयास र अरूको अभ्यास सुन्न–सुनाउन फरकफरक विधामा यस्ता कार्यक्रम महिनाको एउटा गर्दै आइएको उहाँले जानकारी दिनुभयो । अनुभव आदनप्रदानले उपचार सेवा र शिक्षण विधिलाई सुधार गर्न थप सहयोग पुग्ने उहाँको भनाइ छ ।

सिएमसी शिक्षण अस्पतालका मुटुरोग विभाग प्रमुख प्राडा श्यामराज रेग्मीले विश्वमा मुटुरोगको उपचारका विधि र प्रविधि तीव्र रूपमा विकास भइरहेको भन्दै ती विधि र प्रविधिबारेमा छलफल गरिएको बताउनुभयो । कार्यक्रममा काठमाडौँ, चितवन र यस आसपासका अस्पतालमा कार्यरत मुटुरोगसम्बन्धी उपचारमा संलग्न चिकित्सक, नर्स, मेडिकल विद्यार्थी र प्राविधिक गरी ३५० जना सहभागी भएका छन् ।

गोष्ठीमा मुटुरोगको उपचार र अनुसन्धानका बारेमा २९ वटा प्रस्तुतीकरणमाथि छलफल भएको छ । कार्यक्रम संयोजन गर्नुभएका अमृत काफ्लेका अनुसार मुटुरोग उपचारका पद्धति, उपचारमा प्रयोग हुने प्रविधि, नविनतम अनुसन्धानका बारेमा छलफल भएको छ ।

चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालमा हालसम्म १६ हजारभन्दा बढी मुटुको परीक्षण तथा शल्यक्रिया भएका छन् । विसं २०७० भदौ ११ गतेदेखि यहाँ क्याथ ल्याब सञ्चालनमा ल्याएर मुटुका विभिन्न शल्यक्रिया हुँदै आएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>