Breaking News
‘सामन्ती भनेर उद्योगी व्यवसायीमाथि नकरात्मकता पैदा गरियो’

चितवन, पुस १९-
देशको वर्तमान राजनीतिक अवस्थाका कारण व्यापार व्यवसाय गर्न असहज पैदा भएको उद्योगी व्यवसायीले बताएका छन् । चितवन उद्योग वाणिज्य संघको ५९औँ वार्षिक साधारणसभा एवम् अधिवेशनको शनिबार उद्घाटन कार्यक्रममा बोल्दै उद्योगी व्यवसायीले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा अझै नकरात्मकता मात्रै रहेको बताएका हुन् ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्योग व्यवसाय गर्ने उद्योगीलाई सामन्तिका रुपमा लिने गरेको बताए । ‘आन्तरिक रुपमा रोजगारी पनि चाहियो भनेका छन् । रोजगारी सृजना गर्ने उद्योगहरुमा पहिला तोडफोड गर्ने गरिन्छ,’ अध्यक्ष ढकालले भने ‘उद्योग व्यवसाय गर्ने व्यक्तिलाई आम नगरिकका लागि सामन्ती करार गरिन्छ ।’ अहिलेको आन्दोलनले निजी क्षेत्रलाई धरासायी बनाएको बताउँदै ढकालले निजी क्षेत्रलाई सुरक्षाको अनुभूति दिलाउनुपर्ने बताए ।
‘जबसम्म गलत गर्नेलाई कारबाही हुँदैन । त्यतिबेलासम्म यस्ता घटनाहरु हुँदै जान्छन्,’ उनले भने, ‘उद्योग क्षेत्रमा कुनै पनि हालतमा आन्दोलन गर्न पाइँदैन ।’ प्रधानमन्त्रीले आगामी दिनमा निजी क्षेत्रका उद्योगमा तोडफोड गर्न नदिने प्रतिबद्धता समेत जनाएको ढकालले बताए । ‘प्रधानमन्त्रीले तीन जना मन्त्री राखेर उद्योग क्षेत्रमा तोडफोड आगजनी कुनै पनि हिसाबले हुन दिदैनौँ भन्नुभएको छ,’ उनले भने, ‘आगामी दिनमा उद्योग क्षेत्र अस्पताल विद्यालय जस्तै शान्ति क्षेत्रको रुपमा घोषणा गर्नेगरी क्याबिनेटबाट पास गराउने प्रतिबद्धता समेत जनाउनुभएको छ ।’
अहिले नेपालमा कुनै पनि सम्भावना छैन भनेर नयाँ भाष्य निर्माण गर्न अफवाह फैलाउने गरिएको अध्यक्ष ढकालले बताए । ‘यहाँ कुनै सम्भावना छैन । नेपालमा कुनै पुँजी सुरक्षित छैन भन्ने कुरामा भाष्य बनाइँदैछ’ उनले भने, ‘अहिले उद्योग वाणिज्य महासंघले केही गर्न सकिन्छ कि भनेर आन्तरिक पुँजी परिचालन गरेर गरिरहेको छ ।’ निजी क्षेत्रले रोजगारी सिर्जना नगर्ने हो भने देशको अवस्था भयावह हुने समेत उनले बताए ।
जेनजी आन्दोलनपछि मुलुकमा सयौँ राजनीतिक दल दर्ता भएको बताउँदै उनले रोजगारी सिर्जनामा कसेको पनि ध्यान जान नसकेको बताए । ‘राजनीतिक दलले राम्रो काम गरेरभन्दा पनि अर्को पार्टीलाई गाली गरेर आफू राम्रो देखिने प्रवृति राम्रो होइन’, उनले भने, ‘अहिले अर्कोलाई गाली गर्ने टे«न्डिङ जस्तै चलेको छ ।’ नेपालको कुल ग्रार्हस्थ उत्पादनको ८० प्रतिशत हिस्सा निजी क्षेत्रले धानेको बताउँदै ८८ प्रतिशत रोजगारी समेत निजी क्षेत्रले धानेको ढकालले बताए ।
‘निजी क्षेत्रले शिक्षा, स्वास्थ्य, पर्यटनलगायतका क्षेत्रमा लगानी नगर्ने हो भने यहाँको अवस्था के हुने थियो ?’ प्रश्न गर्दै उनले भने, ‘यी क्षेत्रबाट हामीले हात झिक्यौँ भने के हुन्छ ?’ उनले कर्मचारी र राजनीतिक दलले जस्तो व्यवसायीले आफ्नो पेशा छाड्न नसक्ने बताए । ‘कुनै पनि राजनीतिज्ञ, कर्मचारीले आफ्नो पेशा छाड्न सक्छ । तर व्यवसायीले छाड्न सक्दैन । किनभने उद्योगीको अण्डरमा हजारौँ मानिसले काम गरेर आफ्नो र परिवारको गुजरा चलाइरहेका हुन्छन् । उसको बैंकमा अर्बौँ रुपैयाँ लोन छ’ उनले भने ।
कार्यक्रममा चितवन उद्योग संघका अध्यक्ष मदन घिमिरेले उद्योग व्यवसाय धरासायी अवस्थामा रहेको बताउँदै व्यवसाय गर्न सोच्नुपर्ने समय आएको बताए । व्यवसायीहरु विदेशमा उत्पादित वस्तुलाई वितरणमुखी नभई स्वेदशमा नै उत्पादनमुखी हुनुपर्ने घिमिरेले बताए । उद्योगी व्यवसायी समानुपातिकमा उठ्न पाउनुपर्ने बताउँदै उद्योगी व्यवसायीको हक अधिकारको लागि कुनै न कुनै रुपमा नेतृत्व तहकमा पुग्न पाउनुपर्ने उनको भनाइ छ ।
कार्यक्रममा पूर्वाधार विज्ञ ज्ञानेन्द्रमान प्रधानले चितवनको विकासका लागि देवघाटमा ५० मिटरको ड्याम बनाउनुपर्ने धारणा राखे । उनले अहिले नेपालमा हुनुपर्ने विकास नभएको बताउँदै नेपालले अहिले खाद्यन्न आयात गरिरहेको बताए । चितवन उद्योग वाणिज्य संघका अध्यक्ष सुमनकुमार श्रेष्ठले जेनजी आन्दोलनपछि निजी क्षेत्रको विश्वास पुनःस्थापना गर्न सरकारद्वारा स्थिर नीतिगत वातावरण सुनिश्चित गर्दै कर, लगानी र श्रम नीतिमा स्पष्टता हुनुपर्ने बताए ।
अध्यक्ष श्रेष्ठले व्यावसायिक क्षेत्रको सुरक्षा सुनिश्चितता र औद्योगिक क्षेत्र तथा बजारमा शान्ति, सुरक्षाको प्रभावकारी व्यवस्था गर्नुपर्ने माग गरे । चितवनलाई औद्योगिक एवम् लोजिस्टिक हबको रुपमा विकास गर्नुपर्ने धारणा राख्दै उनले निजी क्षेत्रको विश्वास पुनस्थापनाका लागि निजी क्षेत्रबीच नियमित संवाद संयन्त्र बनाउनुपर्ने बताए । चितवन उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि यही पुस २१ गते निर्वाचन हुँदैछ ।
नेतृत्वका लागि व्यवसायीहरु अन्तिम कसरतमा छन् । उद्योग वाणिज्य संघको अधिवेशनबाट २५ सदस्यीय कार्यसमिति निर्वाचित हुनेछ । चार जना पदाधिकारी र २३ जना सदस्य चयन हुनेछन् । उद्योग, वाणिज्य तर्फ छ÷छ जना, वस्तुगततर्फ चार जना, महिला एक जना, एसोसिएटतर्फ दुई जना, क्षेत्रीय सदस्य एक जना निर्वाचित हुनेछन् ।
यस्तै, मनोनित तीन जना सदस्य र चार जना विशिष्ट सदस्य मनोनित हुनेछन् । उद्योग वाणिज्य संघ चितवनमा तीन हजार सात सय जना सदस्य रहेकोमा तीन हजार चार सय जनाले नवीकरण गरेका छन् । त्यसमध्ये तीन हजार तीन सय ७१ जनाले मतदान गर्न पाउनेछन् ।
























