Breaking News

नारायणगढ-गैँडाकोट जोड्ने आइकोनिक पुल निर्माणले गति लियो,नेपालमै नयाँ प्रविधि प्रयोग गरिदै

Banner

नारायणगढ,पुस १७-

नारायणगढ र गैँडाकोट जोड्ने नारायणी नदीमाथि आधुनिक प्रविधियुक्त केबल–स्टेड ‘आइकोनिक पुल’ निर्माणले गति लिएको छ । निर्माण कम्पनी तुँदी कन्स्ट्रक्सन प्रालिले एक महिनाअघि पुल निर्माणको काम सुरु गरेको हो । कम्पनीका स्ट्रक्चरल इन्जिनियर सन्देश त्रिपाठीका अनुसार हाल पुल निर्माणको काम टेस्टिङ फेजमा रहेको छ । प्रारम्भिक डिजाइन तयार गर्दा गरिएको प्रयोग (एक्सपेरिमेन्ट) र त्यसबाट प्राप्त नतिजाका आधारमा पुलका विभिन्न संरचनात्मक पक्षहरू परीक्षण गर्दै काम अघि बढाइएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “डिजाइन गर्दा हामीले विभिन्न परीक्षण गरी पुलले कति भार थेग्न सक्छ भन्ने निर्धारण गरेका हुन्छौँ । फिल्डमा पनि त्यही भार थेग्न सक्छ कि सक्दैन भनेर परीक्षण गर्नुपर्छ । अहिले हामी त्यही चरणमा छौँ ।”

टेस्टिङका लागि नेपालमै नयाँ प्रविधि ‘ओसेल’ प्रयोग गरिँदैछ । यस प्रविधिअन्तर्गत करिब ४५ मिटर गहिराइमा हाइड्रोलिक ज्याक राखी कंक्रीटिङ गरिन्छ । सो उपकरण हाल चीनबाट ल्याउने प्रक्रियामा रहेको र उपकरण आएपछि थप काम तीव्र हुने इन्जिनियर त्रिपाठीले जानकारी दिनुभयो । उहाँका अनुसार ओसेल प्रविधि पाइलले कति भार सहन सक्छ भन्ने मापन गर्ने उपकरण हो । ४५ मिटर लामो पाइलभित्र स्टिल केजमा हाइड्रोलिक ज्याक जडान गरिन्छ । कंक्रीटिङ गर्दा ज्याक फुल्दै जाँदा माथिल्लो र तल्लो भागमा पर्ने दबाब र प्रतिक्रिया (रेस्पोन्स) मापन गरिन्छ । यसबाट पाइलको वास्तविक भार वहन क्षमता यकिन गरिन्छ ।

हाल साइट क्याम्पमा छड बाँध्ने, कंक्रीट मिक्स डिजाइन गर्ने तथा स्टिल केज निर्माणका कामहरू भइरहेको छन् । यहाँ तयार गरिएका केजहरू फिल्डमा लगेर पिलरमा जडान गरिनेछ । पुलको डिजाइन अन्तर्राष्ट्रिय आईआरसी कोडअनुसार कम्तीमा १०० वर्ष आयु रहने गरी गरिएको छ । टेस्टिङ फेजमा श्रमिकको संख्या कम भए पनि यो चरण सकिएपछि थप जनशक्ति परिचालन गरिन छ ।

आइकोनिक केबल–स्टेड पुलमा आर्च ब्रिज, केबल नेटवर्किङ आर्च, सस्पेन्सनलगायत आधुनिक संरचनात्मक प्रविधिहरू समावेश हुनेछन् । पुल निर्माणको लागत एक अर्ब ६८ करोड रुपैयाँ रहेको छ । सडक विभागले सन् २०२३ मा पुल निर्माणको ठेक्का दिएको हो । नारायणी नदीमा हाल रहेको पुलको समानान्तर निर्माण गरिँदै गरेको नयाँ पुलको लम्बाइ ४२० मिटर र चौडाइ १२ मिटर हुनेछ । पुलको आयु कम्तीमा १०० वर्ष रहने बताइएको छ । विसं २०८० जेठ १९ गते ठेक्का सम्झौतापछि निर्माण कम्पनीले अन्तिम डिजाइन तयार गरी प्रमाणीकरण प्राप्त गरेसँगै नयाँ पुल निर्माणले तीव्रता पाएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>