चितवन विशेष

घडियाल गोही गणना सकियो,३ सय ६६ वटा घडियाल फेला परे

Banner

भरतपुर,पुस ५-

यो वर्षको घडियाल गोही गणना सकिएको छ । समग्रमा घडियालको संख्या बढ्दा नारायणी नदी क्षेत्रमा भने घडियाल घटेको चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ ।

नारायणी र राप्तीमा गरेर यो वर्ष कुल ३ सय ६६ वटा घडियाल फेला परेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं संरक्षण अधिकृत अविनाश थापा मगरले जानकारी दिए । गत वर्ष यी दुई नदी क्षेत्रमा कुल ३ सय ५२ घडियाल गोही फेला परेका थिए । यो पटक मंसिर २१ गतेदेखि २९ गतेसम्म घडियाल पाइने सम्भावित क्षेत्रमा प्रत्यक्ष अवलोकन विधिबाट गोही गणना गरेका सूचना अधिकारी थापा मगरले बताए ।

यस पटक सबैभन्दा धेरै राप्ती नदी क्षेत्रमा २ सय ३१ घडियाल भेटिए । गत वर्ष २ सय ६ वटा भेटिएका थिए । त्यसै गरी नारायणी नदी क्षेत्रमा यस पटक १ सय ३५ गोही फेला परे । गत वर्ष १ सय ४६ घडियाल भेटिएका थिए । नारायणीमा गत वर्षभन्दा ११ वटा घडियाल कम भएका छन् । कुनै बेला राप्ती नदी क्षेत्रमा घडियाल नै पाइँदैन थियो । तर पछिल्लो समय राप्ती नै घडियालको मुख्य बासस्थल भएको छ । नारायणी नदी क्षेत्रमा घडियाल घट्न थालेको छ ।

यो पटक राप्तीमा सात र नारायणीमा दुई गरेर नौवटा भाले घडियाल गोही भेटिएको पनि सूचना अधिकारी अविनाश थापा मगरले बताए । घडियाल सफा बगेको पानीमा बस्ने र माछा मात्र खाने गर्दछ । यो सफा पानीको सूचक हो । तर पछिल्लो समय नदी प्रदूषण र आहारा अभावले घडियाल संकटमा छन् ।

यो अति संकटापन्न अवस्थामा पुगेको दुर्लभ जीव ह‍ो । यसको संरक्षणका लागि चितवन राष्ट्रिय निकुञ्जजको मुख्यालय कसरा नजिक सन् १९७८ मा घडियाल प्रजनन केन्द्र खुलेको थियो । केन्द्रमा घडियालको प्राकृतिक गुँडबाट अण्डा ल्याएर बच्चा कोरल्ने गरिन्छ । ती बच्चा हुर्केपछि नदी र खोलाहरूमा छाड्ने चलन छ । यसरी छाडेका घडियाल पनि कमै मात्र बाँचेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>