चितवन विशेष

फागुन २१ निर्वाचनः क्षेत्रीय समितिबाट उम्मेदवार माग्दै कांग्रेस चितवन

Banner

चितवन, मंसिर २२–

नेपाली कांग्रेस चितवनले आगामि फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार हुन चाहनेहरुको सिफारिस प्रक्रिया अघि बढाएको छ ।

जिल्लाका तीन वटै क्षेत्रीय समिति मार्फत उम्मेदवार बन्न चाहनेहरुको सूची संकलन गर्न थालेको हो । मंसिर २५ गते भित्रमा जिल्ला समितिले केन्द्रमा उम्मेदवार हुन चाहनेहरुको सूची पठाउनु पर्नेछ । अहिले सोही अनुसार तीन वटै क्षेत्रीय समितिहरुलाई उम्मेदवार हुन चाहनेको नाम पठाउन निर्देशन दिइएको नेपाली कांग्रेस चितवनका सचिव ध्रुव पोखरेलले जानकारी दिए । ‘नाम पठाउनका लागि प्रक्रिया अघि बढि सकेको छ, अब केही दिन भित्रमा क्षेत्रीय समितिले नाम पठाएपछि हामी त्यही नाम केन्द्रलाई सिफारिस गर्नेर्छौ’–सचिव पोखरेलले भने ।

सचिव ध्रुव पोखरेलका अनुसार क्षेत्रीय समितिहरुले प्रत्यक्षतर्फ एक महिलासहित ३ जना, समानुपातिकतर्फ १ महिलासहित २ जना र राष्ट्रिय सभातर्फ प्रत्येक क्षेत्रबाट दुई–दुई जनाको नाम पठाउनु पर्नेहुन्छ । कांग्रेसले एकपटक समानुपातिकको सूचीमा परेकालाई यसपटक नराख्ने निर्णय गरेकाले सोही अनुसार क्षेत्रीय समितिहरुले नाम सिफारिस गर्नेछ । प्रतिनिधिसभा तर्फ चितवनमा ३ वटा निर्वाचन क्षेत्र छन् । गत २०७९ सालमा भएको निर्वाचनमा क्षेत्र नं.१ र २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी विजयी भएको थियो भने क्षेत्र नं.३ बाट राप्रपाले चुनाव जितेको थियो ।

गत भदौमा भएको जनेजी आन्दोलनबाट बनेको नयाँ सरकारले फागुन २१ गते निर्वाचनको मिति तोकेको छ । सोही अनुसार नेपाली कांग्रेसले उम्मेदवार हुन इच्छुकहरुको सूची संकलन थालेको हो । कांग्रेस आउँदो पुस अन्तिम साता महाधिवेशन गर्ने निर्णय समेत गरेकाले अहिले गाउँस्तरबाट महाधिवेशनको प्रक्रिया समेत अघि बढेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>