चितवन विशेष

चितवन कारागारका क्षयरोगीलाई छट्टै आइसोलेसन कक्ष

Banner

चितवन, मङ्सिर १७-

कारागार कार्यालय चितवनमा रहेका क्षयरोगीलाई छुट्टै आइसोलेसन कक्ष निर्माण गरिएको छ । यहाँ रहेका पाँच जना क्षयरोगी बिरामीलाई कारागारभित्रै छट्टै कक्षमा राखेर उपचार गरिएको छ । क्षमताभन्दा बढी कैदीबन्दी रहेको यस कारागारमा गत भदौमा गरिएको परीक्षणका क्रममा कारागारभित्रका आठ जनालाई क्षयरोग देखिएको थियो । त्यसपछि छुट्टै आइसोलेसन कक्ष निर्माण गरी राखिएको कारागार कार्यालय चितवनका प्रमुख रविन्द्रप्रसाद ढुङ्गानाले जानकारी दिनुभयो ।

जेनजी आन्दोलनपछि भागेका कैदीबन्दी पुनःफर्किएसँगै आइसोलेसनमा राखेर उपचार गर्न थालिएको हो । उहाँका अनुसार अहिले सो आइसोलेसनमा पाँच जना बिरामी रहेका छन् । उहाँले भन्नुभयो, “आठ जनामध्ये तीन जना अहिलेसम्म फर्किएर आएका छैनन् ।” फर्किएकालाई आएकालाई बीचमा औषधि छुटेको हुँदा पुनःसुरुदेखि नै सञ्चालन गरिएको उहाँले बताउनुभयो । यस कारागारको क्षमता महिलातर्फ ५० जना र पुरुषतर्फ ५०० जनाको रहेको छ ।

अहिले कारागारमा रहेका क्षयरोगीलाई छ महिनामा आइसोलेसनमा राखेर उपचार गरिने उहाँले जानकारी दिनुभयो । अहिले यस कार्यालमा १०४ जना बिरामी रहेका छन् । उनीहरूमध्ये क्षयरोगका बिरामीका कारण अरुलाई सर्ने भएकाले उनीहरूलाई सुरक्षित गरी छ महिनाका लागि आइसोलेसनमा राखिएको हो । यसैबीच आज गरिएको कैदीबन्दीको निःशुल्क स्वास्थ्य परीक्षण शिविर तथा दिवाखाना कार्यक्रममा ४२३ जनाको स्वास्थ्य परीक्षण गरिएको छ । जसमा ३८७ जना पुरुष, ३४ महिला एवं दुई बालबालिकाको स्वास्थ्य परीक्षण गरिएको छ । उनीहरूमध्ये सात जनामा क्षयरोगको सङ्क्रमणको आशङ्का देखिएको ढुङ्गानाले बताउनुभयो ।

यस्तै, एचआइभी एड्स परीक्षण गर्ने ४०१ जनामा कुनै सङ्क्रमण नदेखिएको उहाँले बताउनुभयो । अहिले कारागार कार्यालयमा ५९० जना पुरुष, ३८ जना महिला र दुई जना बालबालिका रहेका छन् ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>