चितवन विशेष

भरतपुर अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये २० प्रतिशत रुघाखोकीका

Banner

चितवन, मङ्सिर १६-

भरतपुर अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये २० प्रतिशत मौसमी रुघाखोकीका रहेका छन् । रुघाखोकीका बिरामी अहिलले जाडो बढेसँगै बढेका हुन् । भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा प्रमोद पौडेलका अनुसार यहाँ उपचारमा आउने बिरामीमध्ये २० प्रतिशत मौसमी रुघाखोकीका बिरामी हुन् । उहाँले भन्नुभयो, “सामान्य समयभन्दा अहिले यस्ता बिरामीको चाप बढेको छ ।” अहिले अस्पतालमा दैनिक एक हजार ५०० देखि दुई हजार हाराहारी बिरामी आउने गरेका छन् । आएका बिरामीमध्ये ३०० भन्दा बढी मौसमी रुघाखोकी र ज्वरोका रहेका उहाँले जानकारी दिनुभयो ।

अस्पतालका वरिष्ठ फिजिसियन डा कालिदास अधिकारीका अनुसार लगातार चार दिनसम्म ज्वरो आउने, घाँटी दुख्ने, टाउको दुख्ने, जीउ दुख्ने, खाना नरुच्ने तथा सुक्खा खोकी लाग्ने जस्ता समस्या लिएर आउने बिरामीको सङ्ख्या बढेको हो । उहाँले भन्नुभयो, “सिजनल फ्लुका बिरामी बढेका छन् ।” यसलाई रोक्न चिसो कुरा नखाने, चिसोमा बाहिर नहिँड्ने, हिँड्नै परे बाक्ला र लामा लुगा गाएर हिँड्ने गर्नुपर्ने उहाँले बताउनुभयो । अस्पतालमा आएका बिरामीमध्ये केही स्क्रबटाइफसका रहेको डा अधिकारीले बताउनुभयो । दीर्घरोगी र ज्येष्ठ नागरिकमा बढी मौसमी रोगको समस्या देखिएको उहाँले बताउनुभयो । अहिले उपचारमा आएका बालबालिकामा समेत मौसमी रोगको समस्या देखिएको बाल रोग विशेषज्ञ डा खेम पौडेलले बताउनुभयो । बालबालिकामा लगातार ज्वरो आउने, सिँगान बगिरहने, खाना नरुच्ने जस्ता समस्या देखिने गरेको उहाँले बताउनुभयो ।

बालबालिकालाई चिसो खान नदिने, बिहान र साँझ बाहिर हिँड्डुल गर्न नदिने, लामो र न्यानो कपडा लगाइदिने, झोलिलो र ताता कुरा खान दिने जस्ता कार्यले मौसमी रोगबाट बचाउन सकिने उहाँले बताउनुभयो । अहिले उपचारमा आएका बालबालिकामध्ये ५० प्रतिशतमा मौसमी रुघाखोकी र ज्वरोको समस्या रहेको उहाँले जानकारी दिनुभयो । बालबालिकालाई चिसोबाट बचाउनसमेत उहाँले आग्रह गर्नुभयो ।

यस अस्पतालमा चितवनसहित विभिन्न जिल्लाका बिरामीको उपचार हुँदै आएको छ । सङ्घीय अस्पतालका रुपमा रहेको यस अस्पतालमा विशेषज्ञ सेवासमेत हुने भएकाले उपचारका लागि केन्द्र बन्दै आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>