Breaking News
एमाले महाधिवेशन प्रतिनिधि छनोटमा ‘सन्तुलन’ अपनाउन पूर्वराष्ट्रपति भण्डारीको आग्रह

काठमाडौं,मंसिर ११-
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेका संगठित सदस्यहरूलाई महाधिवेशन प्रतिनिधि छनोटमा सन्तुलित र जिम्मेवार ढंगले अघि बढ्न आग्रह गरेकी छन्। बिहीबार बिहान पार्टी सदस्यहरूका नाममा एक अपिल जारी गर्दै उनले महाधिवेशनलाई संगठनात्मक मजबुती र राजनीतिक अग्रगमनका लागि महत्वपूर्ण अवसरका रूपमा वर्णन गरेकी हुन् ।
भण्डारीले आफू विधानसम्मत तरिकाले सदस्यता नवीकरण गरिसकेको भए पनि पार्टी नेतृत्वले अनुचित रूपमा रोकिदिएको आरोप पुनः दोहोर्याइन्। त्यसैले महाधिवेशनमा भौतिक उपस्थिति नजनाउनुपर्ने परिस्थितिमा परेको बताउँदै उनले पार्टी परिवारप्रतिको आफ्नो प्रतिबद्धता यथावत रहने उल्लेख गरेकी हुन् ।
उनका अनुसार महाधिवेशन पार्टीका नेता-कार्यकर्ता मात्र नभई आम नागरिकका लागि पनि महत्वपूर्ण सरोकारको विषय हो । यसले नीति, नेतृत्व र पार्टीको दीर्घकालीन दिशानिर्देशन तय गर्ने उनको भनाइ छ । ‘निर्धारित समयभन्दा एक वर्षअघि हुनलागिरहेको महाधिवेशनलाई सफल बनाउन वैचारिक रूपले परिपक्व नेतृत्व, उर्जाशील युवा पुस्ता र विभिन्न क्षेत्रको सन्तुलित प्रतिनिधित्व अपरिहार्य छ,’ भण्डारीले भनेकी छन्।
























