Breaking News

मादी पुल निर्माण धमाधमः ७२ प्रतिशत भौतिक प्रगति

Banner

तनहुँ कात्तिक २८-

मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत पृथ्वी राजमार्गको सबैभन्दा लामो आर्क ‘डिजाइन’को मादी पुल निर्माणले तीव्रता पाएको छ । पर्यटकलाई आकर्षण गर्ने उद्देश्यले पुल कलात्मक आर्क डिजाइनको निर्माण गर्न लागिएको हो ।

यातायात आवागमनको प्रयोगका लागि मात्रै नभई पर्यटकलाई पनि आकर्षित गर्ने उद्देश्यले कलात्मक डिजाइनको पुल निर्माण थालिएको आयोजना कार्यालयले जनाएको छ । पुलको हालसम्म ७२ प्रतिशत भौतिक प्रगति भएको मुग्लिन–पोखरा सडक (पूर्वी खण्ड) आयोजना कार्यालयले जनाएको छ ।

व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमा निर्माणाधीन पुल चार लेनको हुने आयोजनाका इञ्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिनुभयो । “सम्झौताअनुसार काम नसकिएपछि ११ महिना म्याद थप गरिएको छ”, उहाँले भन्नुभयो, “पछिल्लोपटक थप गरिएको म्यादभित्र पुल सम्पन्न गर्ने योजनासहित कामलाई तीव्रता दिइएको हो ।”

गत साउन २६ गते म्याद सकिएपछि आगामी असार १९ गतेसम्मलाई समय थपिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “जेठ, असार, साउन र भदौ गरी चार महिना वर्षायाम भएकाले निर्माण रोकिएकामा दसैँ लगत्तैदेखि पुनः निर्माणले गति लिइरहेको छ ।”

उक्त पुलमा छ वटा स्पान हुनेछ । तीन सय १५ मिटर लामो पुल तीन वर्षभित्र सम्पन्न गर्नेगरी निर्माण कम्पनीले विसं २०७९ साउन २६ गते रु एक अर्ब २१ करोडमा ठेक्का सम्झौता गरेको थियो ।

हाल नदीमाथि रहेको दुई लेनको पुल ३७० मिटर लम्बाइको छ । सोही पुलभन्दा करिब ५० मिटरको दूरीमा नयाँ पुल निर्माण भइरहेको इञ्जिनियर पाण्डेले बताउनुभयो । मुग्लिन–पोखरा सडक आयोजनाको पूर्वी खण्डअन्तर्गत आँबुखैरेनीबाट जामुनेसम्म १३ वटा पुल निर्माण सम्पन्न भइसकेका छन् । आँबुखैरेनी–जामुनेसम्मको ४१ दशमलव ४५ किलोमिटर कालोपत्र सकिएको छ ।

पूर्वी खण्डमा विसं २०७७ माघ १७ गते सम्झौता भई विसं २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>