चितवन विशेष
देवघाटका विद्यार्थीहरूलाई नारायणगढ रोटरी तथा स्पाउज क्लबको सहयोग

चितवन, कार्तिक १८–
नारायणगढ रोटरी क्लब र स्पाउज क्लब अफ नारायणगढ रोटरीले देवघाट–५, तनहुँस्थित कालिका आधारभूत विद्यालयका विद्यार्थीहरुलाई विभिन्न सामग्री सहयोग गरेको छ ।
एक कार्यक्रमकाबीच नर्सरीदेखि ५ कक्षासम्मका ४३ जना विद्यार्थीहरूलाई ट्रयाकसुट, स्टेशनरी, स्कुल ब्याग, खाजालगायत खेलकूदका सामग्रीहरू सहयोग गरिएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद अधिकारी र प्रधानाध्यापक कविराज पराजुलीको उपस्थितिमा रोटरी क्लब अफ नारायणगढका अध्यक्ष सेवन पन्त र स्पाउज क्लबकी अध्यक्ष दुर्गा श्रेष्ठले उक्त सामग्रीहरू विद्यार्थीहरूलाई वितरण गर्नुभएको हो ।
स्वार्थ भन्दा माथी सेवाको भावना राखेर स्थापना भएको नारायणगढ रोटरी क्लबका अध्यक्ष सेवन पन्तले विद्यार्थीहरूको भविष्य निर्माणमा यो सानो सहयोगले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको थियो । स्पाउज क्लबकी अध्यक्ष श्रेष्ठले क्लबको तर्पmबाट सहयोग उपलब्ध गराउन पाएकोमा आपूmलाई गौरवान्वित महसुस भएको र यस किसिमको शैक्षिक तथा सामाजिक कार्यबाट आनन्दको अनुभूति प्राप्त भएको बताउनुभयो । विद्यार्थीहरुलाई ६८ हजार ३ सय रुपैयाँ बराबरको सहयोग वितरण गरिएको क्लबका सचिव विकास सापकोटाले जानकारी दिनुभयो ।
नारायणगढ रोटरी क्लबका निवर्तमान अध्यक्ष तारानाथ पाठकले क्लबको संक्षिप्त परिचय प्रस्तुत गर्दै बाबुनानीहरूको उज्ज्वल भविष्यको कामना गर्नुभएको थियो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद अधिकारीले विद्यार्थीहरूको शैक्षिक उन्नतीको लागि नारायणगढदेखि आएर सहयोग प्रदान गरेकोमा खुसी व्यक्त गर्दै नारायणगढ रोटरी तथा स्पाउज क्लबलाई धन्यवाद व्यक्त गर्नुभयो । विद्यालयका प्रधानाध्यापक कविराज पराजुलीले विद्यार्थीहरूको शैक्षिक, बौद्धिक एवम् शारिरीक क्षमता बृद्धिको लागि यस सहयोगले अहम भूमिका निभाउने बताउनुभयो ।
नारायणगढ रोटरी क्लबका सचिव विकास सापकोटाको संयोजकत्वमा सम्पन्न भएको उक्त कार्यक्रममा देवघाट–५ का वडा प्रतिनिधि, नारायणगढ रोटरी क्लबका पूर्व अध्यक्ष तथा सदस्यहरू, स्पाउज क्लबका पूर्व अध्यक्ष, पदाधिकारीलगायत सदस्यहरूको उपस्थिति रहेको थियो ।
























