Breaking News

आईसीसी क्रिकेट विश्व कप लिग-२ः आइतबार अमेरिकासँग भिड्दै नेपाल

Banner

काठमाडौं,कात्तिक ९-

आईसीसी क्रिकेट विश्व कप लिग–२ अन्तर्गत नेपालले आइतबार अमेरिकासँग खेल्दैछ । यूएई भ्रमणमा रहेको नेपाली टोली आफ्नो पहिलो खेल अमेरिकासँग खेल्न लागेको हो । खेल नेपाली समय अनुसार बिहान ११ः१५ बजे शुरू हुनेछ । शृंखलामा नेपाली टोलीको प्रतिद्वन्द्वीका रूपमा आयोजक यूएई र अमेरिका छन् । नेपाली टोलीले अमेरिका र आयोजक राष्ट्रसँग दुई–दुई खेल खेल्नेछ ।

नेपालले आफ्नो दोस्रो खेल अक्टोबर ३० तारिख (कार्तिक १३ गते) आयोजक यूएईसँग खेल्नेछ । तेस्रो खेल नोभेम्बर १ तारिख (कार्तिक १५ गते) अमेरिकासँग र चौथो खेल नोभेम्बर ५ तारिख (कार्तिक १९ गते) यूएईसँग खेल्नेछ ।

लिग–२० शृंखलाअन्तर्गतका खेल ५० ओभरको हुन्छ । लिग–२ प्रतियोगितामा प्रत्येक शृंखला सकिएपछि सहभागी तीनवटै टोलीबीच टी–२० शृंखला पनि खेलिँदै आएको छ । यद्यपि, टी–२० शृंखलाको नतिजाले लिग–२ प्रतियोगिताको तालिकामा कुनै असर पार्दैन । जारी लिग–२ प्रतियोगितामा सहभागी आठवटै राष्ट्रले ३६–३६ खेल खेल्नेछन् । प्रत्येक राष्ट्रले घरेलु मैदानमा तीनवटा शृंखला खेल्नेछन् भने ६ वटा शृंखला अन्य राष्ट्रको मैदानमा खेल्नेछन् ।

बलियो टेस्ट राष्ट्र वेस्ट इन्डिजमाथिको अभूतपूर्व जीत, छनोट प्रतियोगितामा च्याम्पियन बन्दै टी–२० विश्वकपको ऐतिहासिक यात्रा, अप्ठ्यारो स्थितिमा पनि दबाब झेल्न सक्ने क्षमताको विकास र उच्च मनोबलसँगै उत्कृष्ट प्रदर्शनको लक्ष्यसहित नेपाली क्रिकेट टोली यतिबेला अर्को महत्त्वपूर्ण यात्रामा छ ।

नेपाली टोलीको भविष्यसँग जोडिएको यो शृंखला निकै अर्थपूर्ण छ । लिग–२ को जारी सिजनअन्तर्गत खेल्न लागिएको यो १५ औं शृंखला हो । लिग–२ अन्तर्गत नेपाली टोलीले खेल्न लागेको भने यो पाँचौं शृंखला हो । सहभागी टोलीका लागि आईसीसी क्रिकेट विश्व कप लिग–२ प्रतियोगिता निकै महत्त्वपूर्ण छ । यो प्रतियोगिता सन् २०२७ मा आयोजना हुने आईसीसी एकदिवसीय विश्वकपका लागि छनोटको आधारका रूपमा पनि रहेको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले लिग–२ अन्तर्गत यूएईमा हुने त्रिकोणात्मक शृंखलाका लागि यसअघि नै आफ्नो टोलीको घोषणा गरिसकेको छ । नेपाली टोली ओमानमा टी–२० विश्वकपको छनोट प्रतियोगिता खेलेर लिग–२ शृंखलामा सहभागी हुन उतैबाट यूएई पुगेको हो ।

क्यानले लिग–२ शृंखलाका लागि रोहित कुमार पौडेलको कप्तानीमा टोलीको घोषणा गरेको हो । घोषित टोलीमा रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उप–कप्तान), सन्दीप लामिछाने, आसिफ शेख, अनिल शाह, कुशल भुर्तेल, सोमपाल कामी, करण केसी, नन्दन यादव, भीम सार्की, कुशल मल्ल, आरिफ शेख, ललित राजवंशी, गुलसन कुमार झा र साहब आलम रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>