Breaking News

इच्छाकामनाका २८१ विद्यार्थीले पाए एक्सपर्टको क्याल्कुलेटर

Banner

चितवन, असोज २९–

इच्छाकामना गाउँपालिकाबाट यस वर्षको एसइइ परीक्षा दिने तयारीमा रहेका सबै विद्यार्थीलाई एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेज चितवनले क्याल्कुलेटर दिएको छ ।
स्थापना दिवसमा मनाइने ‘एक्सपर्ट डे’ को अवसरमा घोषणा गरिएअनुसार एक्सपर्टले उक्त गाउँपालिकाका ८ वटै माध्यमिक विद्यालयका कक्षा १० अध्ययनरत सबै विद्यार्थीलाई क्याल्कुलेटर सहयोग गरेको हो ।
साउन २३ गते परेको स्थापना दिवसको अवसरमा एक्सपर्टले आयोजना गरेको विशेष समारोहमा दुईवटा माध्यमिक विद्यालयलाई क्याल्कुलेटर दिइसकेको थियो । उक्त समारोहमा राष्ट्रिय माध्यमिक विद्यालय हात्तीबाङलाई सत्ताइस थान र माध्यमिक विद्यालय रानीखोलालाई बीस थान क्याल्कुलेटर हस्तान्तरण गरिएको थियो ।
बाँकी दुई विद्यालयमा कक्षाकोठामै पुगेर क्याल्कुलेटर हस्तान्तरण गरिएको छ भने अरू चार विद्यालयमा पुग्ने गरी गाउँपालिका कार्यालयमार्फत पठाइएको छ । मंगलबार ९२८ असोज० गाउँपालिका कार्यालय कुरिनटार पुगेर एक्सपर्ट एजुकेसनका निर्देशक डिल्लीराम अधिकारीसहितको टोलीले गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङलाई काउले, माझगाउँ, ढुङ्ग्रे र गर्दास माध्यमिक विद्यालयका विद्यार्थीले पाउने गरी क्याल्कुलेटर हस्तान्तरण गरे ।
साथै मंगलबार नै गाउँपालिका अध्यक्ष गुरुङ र उपाध्यक्ष माया सिलवालसहितको उपस्थितिमा सर्वशान्ति मावि कुरिनटार र त्रिवेणी वराह मावि मुग्लिङमा पनि क्याल्कुलेटर बाँडिएको छ । विपन्नतासँगै जुधिरहेका विद्यार्थीलाई पढाइमा सहयोग होस् भनेर सामाजिक उत्तरदायित्व बहन गरी क्याल्कुलेटर बोकी आएको एक्सपर्ट एजुकेसनका निर्देशक डिल्लीराम अधिकारीले बताए ।

सर्वशान्तिमा एक सय चार थान, त्रिवेणीमा सैँतीस थान, जनप्रिय माध्यमिक विद्यालय काउलेमा चौबिस थान, माझगाउँ माध्यमिक विद्यालयमा नौ थान, माध्यमिक विद्यालय ढुङ्ग्रेमा तेइस थान र राष्ट्रिय माध्यमिक विद्यालय गर्दासमा सैँतीस थान क्याल्कुलेटर दिइएको एक्सपर्ट चितवन रिजनका बिजनेस डेभलपमेन्ट म्यानेजर विनोदबाबु रिजालले जानकारी दिए ।
इच्छाकामनाभर कक्षा दशमा अध्ययन गर्ने कुल विद्यार्थी दुई सय एकासी जना छन् । विकट क्षेत्रमा अध्ययनरत उनीहरूमध्ये अधिकांशको आर्थिक अवस्था कमजोर छ ।

गाउँपालिका अध्यक्ष गुरुङले आर्थिक विपन्नताका कारण शैक्षिक सामग्रीसमेत किन्न नसक्ने विद्यार्थी पढ्ने गाउँपालिकामा सहयोग लिइ आएकोमा एक्सपर्टलाई धन्यवाद ज्ञापन गरे ।

सर्वशान्ति माविका प्रधानाध्यापक जोन खरेलले विपन्न विद्यार्थीलाई सानो सहयोगले पनि ठूलो अर्थ राख्ने बताए । त्रिवेणी वराह माविका प्रधानाध्यापक युवराज लामाले व्यक्तिगतरूपमा सानै भए पनि ठूलो संख्यामा ठूलै सहयोग भएको बताए ।
एक्सपर्ट एजुकेसन सन् २००३ मा स्थापना भएको हो । यसले स्थापनाको २२ वर्ष पूरा गरेको छ । हरेक वर्ष वार्षिकोत्सवको अवसर पारेर एक्सपर्टले सामाजिक सहयोग गर्दै आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>