चितवन विशेष
चितवनका सामुदायिक विद्यालयका शिक्षकहरुलाई रोटरीले दियो ‘कम्प्युटर तालिम’

चितवन, असोज ३–
रोटरी क्लब अफ चितवनको आयोजनामा तथा क्यान फेडेरेशन चितवनको प्राविधिक सहयोगमा चितवनका सामुदायिक विद्यालयका शिक्षकहरुका लागि कम्प्युटर तालिम सुरु भएको छ ।
इच्छाकामनास्थित श्री राष्ट्रिय आधारभूत विद्यालय खेतबारी, भद्रकुमारी विद्यालय (गुलाब बाग) र राष्ट्रिय माध्यमिक विद्यालय, कैलाशनगर तथा बालकुमारी माबिका ३८ जना शिक्षकशिक्षिकाहरुका लागि “शिक्षामा आइसिटीको प्रयोग सम्बन्धि कम्प्युटर तालिम” आयोजना गरिएको हो ।
तालिममा लालप्रसाद पौडेल र ई.कृष्ण पोखरेल प्रशिक्षकको रुपमा रहनु भएको थियो । कार्यक्रम संयोजक चितवन रोटरीका निवर्तमान अध्यक्ष एवं क्यान महासघ का केन्द्रिय लेखा संयोजक भानु शर्माले स्वागत मन्तव्य व्यक्त गर्दै रोटरीको परिचय, सूचना प्रविधिको प्रयोग गरि शिक्षामा गर्न सकिने सुधार र तालिमको माध्यमबाट सिकेको ज्ञानलाइ विद्यालयमा प्रयोग गर्न अनुरोध गर्नु भएको थियो।
२ दिनसम्म चल्ने उक्त तालिममा सबै शिक्षकहरुले आ–आफ्नो ल्यापटपमा व्यवहारिक सिप सिक्नेछन् । अफिस प्याकेजको माध्यमबाट शिक्षण सामाग्रीको निर्माण, अहिलेको पछिल्लो प्रबिधि एआइ (कृत्रिम बुद्धिमता) को प्रयोग शिक्षण प्रबिधिमा कसरि गर्न सकिन्छ भन्ने सन्दर्भमा बृहत छलफल गरिनेछ ।
रोटरी क्लब अफ चितवनको सभा हलमा सुरु भएको तालिमको संचालन सचिब लोमस अधिकारीले गर्नु भएको थियो। तालिमको औपचारिक कार्यक्रम रोटरीको असिस्टेन्ट गर्भनर धनबहादुर श्रेष्ठको प्रमुख आतिथ्यता तथा रोटरी क्लवका अध्यक्ष रामचन्द्र अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
























