चितवन विशेष
एमाले चितवनले भोलि संविधानको रक्षा र कार्यान्वयनको विषयमा अन्तरक्रिया गर्दै,पालिकाहरुमा दीप प्रज्वलन

चितवन,असोज २-
नेकपा (एमाले) जिल्ला कमिटी चितवनले संविधानको रक्षा र कार्यान्वयनको विषयमा अन्तरक्रिया गर्ने भएको छ । भोलि असोज ३ गते संविधान दिवसका अवसरमा एमाले चितवनको जिल्ला पार्टी कार्यालयमा दिउँसो ३ बजे अन्तरक्रिया कार्यक्रम गर्न लागिएको हो । अन्तरक्रिया कार्यक्रममा भूगोलमा रहेका केन्द्रीय तहका नेताहरुको उपस्थिति रहने एमाले चितवनका प्रचार विभाग प्रमुख प्रकाश आचार्यले जानकारी दिए । सो कार्यक्रममा उपस्थित हुन पार्टी एवम् जनवर्गीय संगठनका सबै तहका नेता कार्यकर्तालाई आह्वान गरिएको छ ।
यसैगरी चितवनका सात वटै पालिकाले आफ्नो पायक पर्ने ठाउँमा भव्य कार्यक्रमसहित दीप प्रज्वलन गरेर संविधान दिवस मनाउन जिल्लाले निर्देशन दिएको छ । भरतपुरले भने चौबिसकोठीमा भोलि साँझ दीप प्रज्वलन गर्ने तय गरिसकेको छ । २०७२ साल असोज ३ गते संविधान जारी भएको दिनलाई संविधान दिवसका रुपमा मनाइन्छ ।
























