Breaking News

तोडफोड र आगजनीबाट थलिएका चितवनका पालिकाले दिन थाले सेवा

Banner

चितवन, असोज २–

गत भदौ २३ र २४ गते युवा पुस्ता (जेन–जी) समूहले देशभर भ्रष्टचारको विरुद्धमा प्रदर्शन ग¥यो । प्रदर्शन हिंसात्मक हुन पुग्यो र पहिलो दिननै १९ जना युवाको मृत्यु भयो । दोस्रो दिन झनै आन्दोलन अनियन्त्रित बन्यो र सरकारी संरचना ध्वस्त बनाउने काम भयो । यो आन्दोलनबाट चितवन पनि अछुतो रहेन । यहाँका माडी नगरपालिका बाहेक ६ वटै स्थानीय तह माथि तोडफोड र आगजनी भयो । जसका कारण केही समय स्थानीय निकायसंगै अन्य सरकारी कार्यालयको सेवा ठप्प भयो । आन्दोलनकै कारण अन्तरिम सरकार बनेसंगै जनजीवन सामान्य बन्यो र अहिले तोडफोड र आगजनी भएका कार्यालयहरु पनि सरसफाई र सेवा प्रवाहको थालनी भएको छ ।

बिहीबारदेखि तोडफोड र आगजनी भएका अधिकांश स्थानीय तहले सेवा प्रवाह सुरु गरिसकेका छन् । आंशिक रुपमा भए पनि सेवाग्राहीलाई मर्का नपरोस् भन्नका लागि स्थानीय तहहरुले भत्केकै संरचनाबाट सेवा प्रवाह सुरु गरेका छन् । भरतपुर महानगरपालिकाले भत्केकै ठाउँबाट सेवा प्रवाह सुरु गरिसकेको छ । महानगरले राजश्व संकलन भत्केको भवनबाट सुरु गरेको छ भने पछाडी भागमा बचेको एउटा भवनबाट अन्य प्रशासनिक सेवा सुरु गरेको छ । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलले सेवाग्राहीलाई सेवा दिन खण्डहर भवनबाटै सामग्री जोडजाड गरेर सेवा सुरुवात गरेको बताउनुभयो । ‘अहिले बिजुली र इन्टरनेट व्यवस्थापन गरेर आंशिक रुपमा सेवा सुरु गरेका छौं, शौचालय नहुँदा कर्मचारीहरु दिनभर कष्टकर अवस्थामा रहेर पनि सेवाको सुरुवात भएको छ’ प्रमुख प्रशासकीय अधिकृत पौडेलले भन्नुभयो–‘हामी फेरी उठेर सेवा दिन सक्षम छौं भन्ने सन्देश दिन सबै कर्मचारी खटिएका छौं ।’

पौडेलका अनुसार महानगरमा प्रारम्भिक रुपमा डेढदेखि २ अर्बको क्षति भएको छ । कतिपय संरचना फेरि बनाउनुपर्ने छ भने धेरैजसो सेवा अब निर्माणको अन्तिम चरणमा रहेको नयाँ भवनबाट नै दीर्घकालिन रुपमा सेवा दिइने छ । भरतपुरसंगै पूर्वी चितवनको रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका, राप्ती नगरपालिका, कालिका नगरपालिका र इच्छाकामना गाउँपालिका पनि सेवा सुरुवात गरेका छन् ।

रत्ननगर नगरपालिकामा बिहीबार सरसफाईसंगै आंशिक सेवा समेत सुरुवात गरिएको छ । नगरबाट प्रशासन, शिक्षा, स्वास्थ्य र पञ्जिकरण शाखाबाट सेवा सुरु गरिएको नगर उप–प्रमुख यादव प्रसाद पाठकले जानकारी दिनुभयो । ‘हामी सरसफाईसंगै आंशिक सेवा सुरु गरिसकेका छौं, वडाहरुबाट पनि सेवा सुरु भएको छ । केही दिनको बिदापछि थप अन्य सेवा सुरु गर्नेछौं’–उप–प्रमुख पाठकले भन्नुभयो ।

यस्तै खैरहनी नगरपालिकाले पनि केही सेवाहरु सुरु गरेको छ । दीर्घरोगीका लागि सिफारिससंगै अत्यावश्यक सेवाहरु सुरु गरिएको नगरका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पौडेलले जानकारी दिनुभयो । ‘अहिले भवन सरसफाई र मर्मत संभारको काम चल्दै छ, तिहारपछि पूर्ण रुपमा सेवा प्रवाह हुनेछ’–प्रमुख प्रशासकीय अधिकृत पौडेलले भन्नुभयो । खैरहनी नगरपालिकाको मुख्य भवन जलेर पूर्णरुपमा ध्वस्त भएको छ । वडा कार्यालयहरुमा पनि अधिकांश क्षति भएको थियो । वडा कार्यालयहरु पनि आफ्ना सेवा सुरु गरेका छन् ।

यसैगरि राप्ती नगरपालिकाले पनि अधिकत सेवा दिइरहेको छ । मुख्य भवनमा धेरै क्षति नभएकाले जिल्ला प्रशासन, मालपोत, नापी कार्यालयसंग जोडिएका कामहरु बाहेक धेरैजसो सेवा सुरु गरि सकिएको प्रमुख प्रशासकीय अधिकृत अमर बहादर वलीले जानकारी दिनुभयो । उहाँका अनुसार वडा कार्यालयले पनि अन्य सेवाहरु सुरु गरि सकेको छ ।

भरतपुरसंग जोडिएको कालिका नगरपालिकाले पनि अधिकतम सेवा सुरु गरेको छ । मुख्य भवनमा धेरै क्षति नभएकाले धेरै सेवा सुरु भइसकेको प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाईले बताउनुभयो । राजश्व संकलनदेखि विभिन्न सिफारिसका कामहरु पनि भइरहेका छन् । वडाबाट हुने नागरिक सिफारितलगायतका महत्वपूर्ण कामहरु पनि सुरु भइसकेको चौलागाईले बताउनुभयो । उहाँले कृषि र पशु सेवा भने पूर्ण रुपमा भवनमा क्षति भएकाले दिन नसकिएको बताउनुभयो ।

जिल्लाको एक मात्र इच्छाकामना गाउँपालिकाले पनि आफ्नो सेवा सुरु गरेको छ । प्रदर्शनकारीहरुले मुख्य भवनमा सामान्य क्षति पु¥याएका छन् । यो आन्दोलनबाट कुनै क्षति व्यहोर्न नपरेको एउटा मात्रै पालिका भने माडी बनेको छ । नगर प्रमुख तारा कुमारी काजी महतोको सुझबुझ निर्णयले माडी नगर जोगिन पुग्यो । जेन–जी प्रदर्शनकारीकै माग अनुसार माडी नगरपालिकाले निर्णय गर्दै विकास निर्माणमा अघि बढेपछि माडीका सबै सरकारी संरचना जोगिएका हुन् । अवस्था सामान्य बनेसंगै माडीमा पूर्णरुपमा नै सेवा प्रवाह भइरहेको नगर प्रमुख महतोले बताउनुभयो । ‘हामी यसैपनि विकासमा पछि परेको नगर हो, युवाहरुको माग अनुसार नै हामी अघि बढ्दा माडीले क्षति व्यहोर्न परेन, हामी सबै सेवा पहिला जस्तै सुरु गरिसकेका छौं’–नगर प्रमुख महतोले भन्नुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>