चितवन विशेष
चितवनमा ‘पुर्खाको थलो’ विशेष प्रदर्शन हुँदै

भरतपुर, भदौ १८-
गुरूङ संस्कृतिमा आधारित नेपाली चलचित्र ‘पुर्खाको थलो’ चितवनमा प्रदर्शन हुने भएको छ। पोखरा र हङकङमा प्रदर्शन भइसकेको यो चलचित्र अब यही भदौ २१ गते शनिबार बिहान ११ बजे नारायणघाटस्थित इन्द्रदेव सिनेमामा विशेष शोमार्फत देखाइने निर्माण पक्षले जानकारी दिएको छ।
चलचित्रको बजार व्यवस्थापन तथा कलाकार अमिर गुरूङ (बन्दीपुरे ठागु)का अनुसार चितवनमा हुने प्रदर्शनका लागि प्रचारप्रसारलाई तीव्रता दिइएको छ। पत्रकार भेटघाटमा बोल्दै उनले भने, “यसअघि प्रदर्शन भएको स्थानमा दर्शकले दिएको उत्साहजनक प्रतिक्रिया हेर्दा चितवनमा पनि सफलता मिल्ने विश्वास लिएका छौँ।”
मुनाल फिल्म प्रालिको ब्यानरमा निर्माण गरिएको यो चलचित्रको लेखन, निर्देशन र सम्पादन ओमप्रकाश गुरूङले गरेका हुन्। मुनालको आठौँ परियोजनाका रूपमा तयार गरिएको फिल्मले गाउँघरमा बढ्दो विदेशिने प्रवृत्ति र त्यससँगै आएको सामाजिक परिवर्तनलाई मुख्य कथावस्तु बनाएको छ। माया–प्रेमसँगै गुरूङ समुदायको संस्कृति र परिवेशलाई चलचित्रले उठान गरेको छ।
चलचित्रमा लगानी कुविना गुरूङ, दिल घले, उत्तरबहादुर गुरूङ, खिमकुमारी गुरूङ र जोगमाया गुरूङले गरेका छन्। छायांकन पिटर गुरूङ, खेमेन्द्र गुरूङ र जलन गुरूङले गरेका हुन्। अभिनयमा गणेशमान घले, लक्ष्मी गुरूङ, ओमप्रकाश गुरूङ, डिबी गुरूङ, लालशोभा गुरूङ, गणेश गुरूङ, शुष्मा गुरूङ, उत्तरबहादुर गुरूङ, कविता गुरूङ, अमिर गुरूङ, खिमकुमारी गुरूङ, राजेन्द्र अधिकारी, गमबहादुर गुरूङ, जोया गुरूङ, सुनदेवी गुरूङलगायतका कलाकार छन्।
गुरूङ संस्कृतिमा आधारित चलचित्र निर्माणमा प्रभाव छोड्न सफल ओमप्रकाश गुरूङ लामो अन्तरालपछि पुनः निर्देशनसहित पर्दामा फर्किएका हुन्। यसअघि उनले तीन वटा चलचित्र निर्देशन गरिसकेका छन्।
फिल्ममा गमबहादुर गुरूङ (गोरे) र विनोद रसाइलीको संगीत संयोजन रहेको छ भने नृत्य निर्देशन नेत्रबहादुर गुरूङले गरेका छन्।

























